८ बैशाख २०८१, शनिबार

एमाले कार्यदलमा आज आन्तरिक विवादको अन्तर्वस्तुमा छलफल हुँदै

uml 6 leader

नेकपा एमालेको पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

आज बिहान ८ बजे बस्ने बैठकमा कार्यदलले पार्टी भित्रको आन्तरिक विवादको अन्तर्वस्तुबारे छलफल गर्ने छ ।

हिजो दिउँसो सिंहदरबारमा बसेको बैठकमा दुवै पक्षले औपचारिक रुपमा आआफ्नो अडान प्रस्तुत गरेका छन् । मुख्यगरी सांगठानिक विषय र सर्वोच्च अदालतको विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरबारे आज ठोस सहमति खोजिने भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुले एमालेको एकता जोगाउन पार्टी कमिटी सम्पूर्ण रुपमा २ जेठ अगाडिको अवस्थामा फर्काउनुपर्ने अडान लिएको छ भने विचाराधीन मुद्दामा भएको हस्ताक्षरबारे मौन रहने बताएको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्ष यो प्रस्तावमा सहमत छैन ।

ओली पक्षका कार्यदल सदस्यहरुले अदालतमा दायर रिटमा संलग्न हस्ताक्षरलाई विशेष जोड दिएका छन् । राष्ट्रिय राजनीतिमा एमालेलाई एकठाउँ राख्न पनि यो विषयबारे बोल्न जरुरी रहेको ओली पक्षको अडान छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पनि १९ असारको बालुवाटार बैठकबाट अदालतको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने नेता एमाले हुन नसक्ने चेतावनी दिनुभएको थियो । कार्यदलका सदस्यहरुले पनि यो विषयलाई जोड दिएका छन् ।

बैठकमा नेपाल पक्षले २३ फागुनयता दुवै पक्षबाट भएका सवै निर्णय खारेज गर्नुपर्ने अडान लिएको छ । दुवै पक्षबाट भएको निर्णय खारेज हुँदा एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्कने तर्क यो समूहका नेताहरुको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संयोजक सुवास नेम्वाङका साथै उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।

नेपाल समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण बिष्ट र नेताद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ ।