७ बैशाख २०८१, शुक्रबार

व्यक्तिकै नाममा मदन भण्डारी राजमार्ग

MADAN BHANDARI RAJMARG

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी राजमार्ग व्यक्तिकै नाममा रहेको पाइएको छ । निर्माण सुरु भएको पाँच वर्षभन्दा बढी हुँदा पनि सडकको क्षेत्राधिकारभित्रको जग्गाको लगत कट्टा नगरिएकाले अर्बौं रुपियाँ लगानी गरी निर्माण गरिएको राजमार्ग व्यक्तिकै नाममा रहेको स्थानीयले बताएका छन् ।

लगत कट्टा नभएकाले राजमार्गले भोग चलनको जग्गाको जग्गाधनीहरूले कर तिर्नु परिरहेको छ । राजमार्ग निर्माणका क्रममा सरकारले अहिलेसम्म व्यक्तिकै जग्गामा लगानी गरिरहेको दुधौली नगरपालिका–१, बङ्का निवासी शिशिर अधिकारी बताउनहुन्छ । जग्गाको लगत कट्टा नगर्दा अहिलेसम्म आफूले राजमार्ग निर्माण भएको जग्गाको समेत कर (तीरो) नगरपालिकालाई तिर्दै आएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, मदन भण्डारी लोकमार्गमा मेरो मात्रै झन्डै साढे तीन कट्ठा जग्गा परेको छ । अहिलेसम्म लगत कट्टा भएको छैन । लगत कट्टा गर्नु पर्दा जग्गाधनीलाई पनि त जानकारी दिनुपर्ला नि । अहिलेसम्म त्यस विषयमा कुनै जानकारी गराइएको छैन ।

सडकको जग्गा सार्वजनिक हुन नसक्दा स्थानीयले जुनसुकै समयमा पनि मुआब्जाको विषयलाई लिएर समस्या ल्याउनसक्ने भएकाले तत्काल लगत कट्टा गरी सार्वजनिक गर्नुपर्ने स्थानीय बताउँछन् ।

राजमार्गको लगत कट्टा गर्ने काममा ढिलाइ भएको उल्लेख गर्दै मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहालले भन्नुभयो, मुआब्जालगायत विभिन्न समस्याका कारण हालसम्म लगत कट्टा नभएको हो । सिन्धुली जिल्लामा मात्रै मदन भण्डारी राजमार्ग निर्माण भएको करिब तीन सय कित्ता जग्गाको लगत कट्टा नभएको उहाँले सुनाउनुभयो । सूचना अधिकारी दाहालका अनुसार लगत कट्टा नगरिँदा राजमार्ग बनेको जग्गाको करसमेत स्थानीयले तिर्नुपर्ने बाध्यता रहेको छ ।

यता मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका अनुसार कामको चापले राजमार्गको जग्गाको लगत कट्टा गर्न नभ्याइएको हो । सडकको मध्यविन्दुबाट दायाँबायाँ १५/१५ मिटर दायाँबायाँ जग्गा छाड्नु पर्ने आयोजनाले बताए पनि लगत कट्टा नभएकाले स्थानीयले राजमार्गमा जग्गा छोड्न आनाकानी गर्दै आएका छन् ।

मदन भण्डारी राजमार्ग पूर्वी खण्ड निर्माण आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर शङ्कर पौडेल राजमार्गमा परेको जग्गाको लगत कट्टा आयोजनाले गर्नुपर्ने भए पनि बीचमा कामको चापले गर्दा त्यता तिर ध्यान नपुगेको र अब लगत कट्टा गरिने बत(ाउनुहुन्छ ।

उहाँका अनुसार, पूर्वी खण्डको १३५ किलोमिटर लम्बाइमध्ये ११८ (९६ प्रतिशत) किलोमिटर सडक कालोपत्रेसहित निर्माण सम्पन्न भइसकेको छ । यस्तै पश्चिम खण्ड आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी निरन्जन थापाले पश्चिम खण्डको ११५ किलो मिटर लम्बाइ सडकमध्ये हालसम्म ९६ किलोमिटर सडक निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

रेखाङ्कन विवादका कारण लामो समयदेखि निर्माण रोकिएको सिन्धुलीको सदरमुकाम क्षेत्रमा छ किलोमिटर लामो सडक निर्माण अब सुरु हुनेभएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडक निर्माणका लागि रेखाङ्कन विवाद भएको धुराबजारदेखि खट्टारसम्म पहिले नै ट्र्याक सडक खुलेको ११ मिटरलाई नै कायम गरी राजमार्ग निर्माण गर्ने सर्वदलीय/सर्वपक्षीय सहमति जुटेपछि सडक निर्माण गर्न बाटो खुलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, धुराबजारदेखि खट्टारसम्म सडकको क्षेत्राधिकार ३० मिटर कायम गरेर निर्माण गरिँदा धेरै क्षति हुने भनेर स्थानीयले अवरोध गर्दा राजमार्ग निर्माणको काम रोकिएको थियो ।

    सम्बन्धित समाचार...