१५ बैशाख २०८१, शनिबार

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

pm oli 03 21

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय आत्मविश्वास बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले स्वदेशी पुँजीमा निर्माण गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कम्प्युटरबाट स्विच थिचेर भर्चुअल उद्घाटन गर्नुहुँदै विदेशीको भर नपरी आफ्नै बलबुतामा पनि थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण माथिल्लो तामाकोशी भएको बताउनुभयो ।

विकास हामी सबैको साझा आवश्यकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उपलब्धि पनि सबैको भएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् ढल्केबर सवस्टेशनबाट देशका विभिन्न भागमा वितरण गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं उर्जामन्त्री विष्णु पौडेलले जलविद्युत उत्पादनको इतिहासमा माथिल्लो तामाकोशी नयाँ कोसेढुंगा गाड्न सफल भएको बताउनुहुँदै यो औद्योगिक उत्पादनका लागि ठुलो योगदान हुने बताउनुभयो ।

नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्त्व भएको उल्लेख गर्दै उहाँले नेपालमा अब कहिल्यै पनि लोडसेडिङ नहुने बताउनुभयो ।

आजदेखि माथिल्लो तामाकोशी आयोजनाले नियमित विद्युत् उत्पादन थाल्नेछ ।

४ सय ५६ मेगावाटको यो आयोजनाबाट आज पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गर्नुभएको थियो ।

आयोजनाको करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान छ । यसमा ५२ अर्ब खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ ।

पूर्ण स्वदेशी पुँजी र स्वदेशी जनशक्ति मात्र प्रयोग गर्ने लक्ष्य राखिएकोमा परामर्शदाता तथा इन्जिनियरिङमा विदेशी जनशक्ति प्रयोग गरिएको थियो ।