१६ चैत्र २०८०, शुक्रबार

असारे विकासः कालोपत्रे गरेको एक महिना नबित्दै भत्कियो

sadak

असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् ।

१२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो । त्यसमध्ये तीन किलोमिटर खण्डको पिच भत्किएको छ । निर्माण कम्पनीले हतारहतारमा राति पानी परेको समयमा सडक पिच गरेकाले एक महिना नपुग्दै भत्किएको स्थानीय सुजन लामाले बताए । ‘पिच गर्नुअघि राम्ररी रोलरसमेत लगाइएन । २०–२५ दिनअगाडि राति पानी परेको वेला हतारहतार सडक पिच गरिएको थियो, अनि किन नभत्किओस् त,’ उनले भने ।

वडा नम्बर १३ का अध्यक्ष मिलन सुनुवारले पिच गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको बताए । ‘बेस (ढुंगा, गिटी, बालुवा राखेर पेल्ने काम) राखेर काम गर्दा कमजोरी देखिन्थ्यो । यो बाटो निर्माण गर्दा प्रक्रिया पुगेन कि भनेर मैले भनेको थिएँ, तर इन्जिनियरहरूले सबै ठीक छ, राम्रो छ भने,’ उनले भने, ‘आफू प्राविधिक मान्छे परिएन । प्राविधिकहरूले भनेको ठिकै त होला नि भनेर चुप लागे । अहिले त एक महिना नहुँदै पिच उप्कियो ।’

स्थानीय पूर्वाधार विभागले १५ पुस ०७५ मा सडक निर्माणका लागि २५ करोड ८० लाखमा इसिआई कन्काई जेभीलाई ठेक्का दिएको थियो । कन्काई जेभीले सिन्धुलीको इमानुवल निर्माण कम्पनीलाई स्थानीय ठेकेदार तोकेर ६ महिनापछि निर्माण कार्य सुरु गरेको थियो । सडकको पिच तीन सेन्टिमिटर बाक्लो हुनुपर्ने सम्झौता छ ।