
कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्ता रिहाइको विषयमा छलफल गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरु बालुवाटार जाँदैछन् । विप्लव नेतृत्वको नेकपाका नेताहरु आज बालुवाटार जादैँछन् ।
मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट जनाएका छन् । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूहले असन्तुष्ट व्यक्त गरेका हुन् ।
सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४ महिना बितिसक्दा पनि अधिकांश नेता कार्यकर्ता अझैपनि जेलमा रहेका हुन् । पक्राउ परेका कार्यकर्ता रिहाइको विषयमा छलफल गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरु आज बालुवाटार जान लागेका हुन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली बालुवाटार जान लागेको एक नेताले जानकारी दिए । सो क्रममा उनीहरुले ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताएका छन् ।
केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको सार्वजनिक टिप्पणी गरेका थिए । सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको उनको भनाइ थियो ।