१३ बैशाख २०८१, बिहीबार

बागमतीमा यो वर्षकै ठूलो बाढी, वर्षा रोकिएपछि जल सतह घट्यो

Bagmati river

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जलसतह घट्न थालेको छ । शनिवार बिहान भारी वर्षा हुँदा बागमती नदीमा जलसतहले खतराको तह पार गरेको थियो । बागमतीस्थित पधेरा दोभान जलमापन केन्द्रमा शनिवार दिउँसो १२ः३० बजे गरिएको मापन अनुसार बागमतीको जलसतह सतर्कता तह आसपास रहेको छ ।

बागमतीमा पानीको गहिराई छ मिटरको आसपास पुगे सतर्कताको तह मानिन्छ । शनिवार बिहान १० बजेको मापनमा बागमती नदीको पानीको सतक ६.८ मिटर पुगेर खतराको तह पार गरेको थियो ।

पानी पर्ने क्रम कम भएसँगै नदीमा पानीको सतह घट्दै गएको बागमतीस्थित ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक प्रविण भट्टराईले गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो । बागमतीमा शनिवार यस वर्षकै सबै भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
अहिले बागमती ड्यामका सबै ढोकाहरु खोलिएका छन् । बागमतीमा पानीको सतह बढ्दा सर्लाही र रौतहटको तल्लो भेगका बस्ती डुबानमा पर्ने गरेका छन् ।

सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले अहिलेसम्म जिल्लामा बागमती लगायत अन्य खोलाले क्षति गरेको जानकारी नआएको बताउनुभयो । वर्षाको पानीले विभिन्न ठाउँमा फुसले छाएका कच्चीहरु भत्किएका खबर आइरहेपनि मानवीय क्षति भने कतै पनि नभएको निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

मङ्गलवार रातीदेखिको वर्षाले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय र केही निजी घर डुबानमा परेका छन् । मलङ्गवा नगरपालिका–५, भाडसरको मिकरानी र यादव टोलका तीन दर्जन घरमा वर्षा र लखन्देही खोलामा आएको बाढीको पानी पसेको छ ।
यस्तै, पर्सा, औरहीलगायतका स्थानमा रहेका प्रहरी चौकीहरु पनि डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जिल्लाभरबाट क्षतिको विवरण लिने काम भइरहेको बताउनु भएको छ ।

यसैबीच, सर्लाहीमा शनिवार दिउँसोबाट भने लगातारको वर्षा रोकिएर घाम लाग्न थालेको छ । वर्षा रोकिएपछि जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।