११ बैशाख २०८१, मंगलवार

आफ्नै उत्पादनबाट विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री

oli1.JPG1 .JPG1 .JPG1

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सब स्टेसनको आज भर्चुअल उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले ओलीले सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढङ्गले अघि बढाएको समेत बताउनुभयो ।

‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सब लाइनहरू नहुनेजस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौँ’, प्रधानमन्त्रीको भनाई थियो ।

नेपालले करिब एक सय १० वर्षअघि ऊर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामा नै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरूप हालका वर्षहरूमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

हाम्रो बहु आयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाइ भएको धारणा पनि प्रधानमन्त्रीको थियो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट वञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताउनुभयो । ‘‘कोभिडसँग लड्नुुुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’’, उहाँको भनाई थियो । यद्यपि सबैलाई एकै पटक खोप सम्भव नहुने भन्दै उहाँले समूहगत रूपमा क्रमशः सबै जनतालाई खोप लगाइने बताउनुभयो ।

यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनर्स्थापनामा सरकारले ध्यान दिइरहेको बताउनुभयो ।

राहतका लागि सम्बद्ध स्थानमा रकम गइसकेको र घाइतेको उपचार सरकारले नै गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।