१२ बैशाख २०८१, बुधबार

सप्तकोशीमा पानीको बहाव उच्च, सुनसरी खोलाले दर्जन परिवार विस्थापित

uddhar koshi

नेपाल कै सबैभन्दा ठूलो नदी सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सप्तकोशी नदीमा शनिबार विहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । सप्तकोशी नदीमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

सुनसरी खोलामा बाढी आउँदा दर्जन बढी विस्थापित

सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकामा सुनसरी खोलामा आएको बाढीले दर्जन बढी घर परिवार विस्थापित भएका छन् । यहाँ बाढी आउँदा दर्जन बढी विस्थापित भएका छन् भने सयौ घर डुवानमा परेको छ । खोलाको पानी सतह भन्दा माथि उठेकाले बस्ती प्रवेश गरी डुबान भएको हो । इनरुवा ४, ९ र १० का केही टोल हित भोक्राहा नरसिंह गाउपालिका ५ र ७ को ठपरा र नसिंह टोल डुवानमा परेको छ । डुवानका कारणले १३ घर परिवार पूर्ण विस्थापित भएको स्काउट नेपाल भोक्राहा नरसिंहका संयोजक रमेश कुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार बाढी गाउँमा पसेको सूचना स्काउटमा आएकाले सो सूचना जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र सीमा सुरक्षा बल जिल्ला कार्यालय इनरुवा, सशस्त्र प्रहरी भुटाहा वेस क्याम्पमा फरर्वाड गरेकाले तत्काल १३ परिवारलाई उद्धार गरि चित्रगुप्त आधारभुत विद्यालयमा राखिएको छ । यादवले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्रहरीलाई निर्देशन दिएको र तत्काल उद्धारको काम गरेको थियो । विस्थापितहरुलाई विद्यालयमा राखिएको र राहतको पहल जारी राखेको यादवले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक संजयसिंह थापा र सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेल सहितले मातहतका प्रहरी युनिटन परिचालन गरेर शुक्रबार राति र शनिबार विहान बाढीमा फसेका बालबालिकाहरुलाई सकुशल उद्धार गरिएको प्रजिअ ढकालले बताउनुभयो । ढकालले उद्धार गरिएका परिवारलाई सुरक्षित स्थानमा राखिएको र उनीहरुलाई राहतका लागि स्थानीय तहलाई पहल गर्न आग्रह गरेको बताउनुभयो । बाढी बढेदै गए सय भन्दा बढी परिवार विस्थापित हुने अवस्थामा रहेको स्थानीय स्काउट सदस्य अजमल अंसारीले जानकारी दिनुभयो । अर्का स्थानीय प्रभु मण्डलका अनुसार सशस्त्र प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठ सहितको टोलीले तत्काल उद्धार गरिएको थियो । बाढी पीडितहरुमा नानु मलाहा, सुदर खत्वे, सम्भु पण्डि, अम्भु पण्डित, असोक खत्वे, झमेली खत्वे, हिरालाल खत्वे, कुलदिप कामत, आशोदेवी कामैत, करिया राम, तुलसी मलाह, विमल खत्वे , मोति खत्वे लगायतका रहेका छन् । पीडितहरुले राहत तत्काल दिनुपर्ने माग गरेका छन् भने उद्धार गर्ने प्रहरीलाई धन्यवाद दिएका छन् ।