१३ बैशाख २०८१, बिहीबार

उपाधि दाबेदार इटाली अन्तिम चारमा, बेल्जियम बाहिरियो

italy

बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई सानदार बचाउ गर्दै खेलमा कायम राखे । त्यसअघि इटालीका लिओनार्डो बोनुचिले गोल गरेपनि रेफ्रीले भीएआरको सहयोग लिँदै उक्त गोललाई मान्यता दिएका थिएनन् । तर इटालीले त्यसपछि खेलमा दबाब कायम गर्दै २ गोलको गर्दै अग्रता लियो । इन्ज्युरी समयमा बेल्जियमले पेनाल्टीमा एक गोल भने फर्कायो ।

दोस्रो हाफमा बेल्जियमल गोल गर्नका लागि सुवर्ण अवसर सिर्जना गरेपनि रोमेलु लुकाकुले बिर्सनलायक प्रदर्शन गर्दा बराबरी गोल हुन सकेन । लुकाकुले दुई सुन्दर अवसरमा सहज प्रयास गर्नबाट चुक्दा इटालीको अग्रता कायम रहेको थियो । बेल्जियमले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुग्यो ।

खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको चुनौती चिर्दै शक्तिशाली प्रहारमा गोल गरेका थिए । मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा राखेर डिफेन्सलाई बिट गरेपछि उनको प्रहार गोल भएको थियो ।

४४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिएपनि बचाउन सकेनन् ।

1625259712152 lc galleryImage Soccer Football Euro 2020

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा कायम नै राखे । इटालीका डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई विपरित दिशामा पठाउँदै गोल गरे ।

दोस्रो हाफको ६१ औं मिनेटमा लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन् । डोकुले दिएको पासमा डे ब्रुएनको लो क्रसलाई लुकाकुले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार डिफेन्डर लिओनार्डो स्पिनाजोलालाई लाग्दै फर्केको थियो । उक्त रिबाउन्डमा लुकाकुले बायाँ खुट्टा चलाउन नसक्दा बेल्जियम बराबर गर्नबाट चुक्यो ।

७० औं मिनेटमा नासेर चाडलीको क्रसमा लुकाकुले हेडर सम्पर्क गराउन सकेनन् । उनको पछि रहेका थोर्गन हाजार्डको प्रहार पनि पोस्टमा रहन सकेन । ७६ औं मिनेटमा लुकाकुको प्रहारलाई रोक्दै जर्जिन्होले इटालीको अग्रता जोगाए । यससँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३२ खेलमा पुर्याएको छ । बेल्जियमले भने १४ खेलपछि हारको सामना गरेको हो ।

इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ ।

media handler