११ बैशाख २०८१, मंगलवार

महेश बाबूले छोडेका फिल्म, जो पछि ब्लकबस्टर भए

Mahesh babu

टलिउड फिल्मका सुपरस्टार महेश बाबूको फ्यान फलोइंग विश्वभर छ ।

बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेका उनलाई बक्सअफिसको हिट मेशिन भन्ने गरिन्छ । उनले अभिनय गरेका प्रायः फिल्म सुपरहिट छन् । उनले आजसम्म बलिउड फिल्ममा काम नगरे पनि उनका धेरै फिल्म हिन्दीमा डब भएका छन् । कति फिल्मको त हिन्दी रिमेक समेत निर्माण भएको छ ।

महेश बाबूले आफ्नो करिअरमा केही यस्ता फिल्म पनि छाडेका छन्, जुन पछि ब्लकबस्टर भए । साउथको सफल फिल्म ‘गजनी’ सबैभन्दा पहिला उनलाई नै अफर गरिएको थियो । तर, उनले काम गर्न अस्वीकार गरेपछि निर्माताले सूर्या शिवकुमारलाई अनुबन्ध गरेका थिए । यो फिल्मको हिन्दी रिमेक पनि बक्सअफिसमा हिट भएको थियो, जसमा अभिनेता आमिर खानको अभिनय थियो ।

सामन्था अक्किनेनी र नागा चैतन्य स्टारर फिल्म ‘ये माया चेस्वा’ पनि पहिला महेश बाबूलाई अफर भएको थियो । केही कारणले गर्दा उनले फिल्म गरेनन् । यही फिल्मले नागाको करिअर चम्काएको थियो । प्रभास अभिनीत फिल्म ‘वर्षम’ पनि सुरुमा महेशलाई अप्रोच गरिएको थियो । तर, उनले फिल्ममा काम गर्न मानेनन् । यो फिल्मले प्रभासको स्टारडमलाई उचाइँमा पुर्‍याएको थियो ।

थलापथी विजय अभिनीत फिल्म ‘कथ्थी’ का लागि पनि महेश पहिलो रोजाइ थिए । तर, उनले रिमेक फिल्म नगर्ने भन्दै अफर रिजेक्ट गरे । सूर्या स्टारर फिल्म ‘२४’ पनि पहिला महेश बाबूलाई अफर गरिएको थियो । तर, उनले फिल्मको कन्सेप्ट नबुझेपछि काम गरेनन् । त्यस्तै, फिल्म ‘रुद्रामादेवी’ मा अल्लू अर्जुनले निर्वाह गरेको भूमिका पनि पहिला महेशलाई अफर गरिएको थियो ।

उनलाई अफर भएको अर्को फिल्म हो, ‘मानासांथा नुवे’ । यो फिल्म उनले त्यो समयमा छाडेका थिए, जतिबेला उनी करिअरको सुरुवाती दिनमा थिए । उनले काम गर्न अस्वीकार गरेपछि फिल्ममा उदय किरणको इन्ट्री भएको थियो । निथिन र सामन्था अक्किनेनी अभिनीत फिल्म ‘अ आ’ र वरुण तेजको फिल्म ‘फिदा’ का लागि पनि निर्देशकको पहिलो रोजाई महेश बाबू नै थिए ।