१५ चैत्र २०८०, बिहीबार

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदै

rastriyasava 1

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ।

बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ। आजको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुने छ । बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ।

प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था भने रहन्न। प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ।

सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ। ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो।

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। पछिल्लो पटक निर्वाचित डा खिमलाल देवकोटा र दृगनारायण पाण्डे अधिवेशनमा नयाँ प्रवेशी सांसद हुनुहुने छ ।