१२ बैशाख २०८१, बुधबार

आन्तरिक पर्यटनमा जोड, भ्रमण वर्ष २०२० काे विदेश प्रचार–प्रसार स्थगित : पर्यटनमन्त्री भट्टराई

visit Nepal 2020 2020

विश्वलाई कोरोना भाइरसले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

२ वर्षअघि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने लक्ष्य लिएको थियो। २०२० जनवरी १ मा भव्य कार्यक्रम गरी नेपालमा उद्घाटन गरिएको भ्रमण वर्ष विश्वका विभिन्न स्थानमा जनवरी ७ मा उद्धाटन गरिएको थियो।

पर्यटन प्रवर्धनका निम्ति काठमाडौंमा भएको एक कार्यक्रमपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा गरिने भिजिट नेपाल २०२० का प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।

‘अब विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्धनको काममा बढी केन्द्रीत हुन्छौं’, उनले भने, ‘आन्तरिक पर्यटनमा जोड दिंदै नीतिहरु अगाडि बढाउँछौं । जब परिस्थिति अनुकूल हुन्छ, त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवर्धनात्मक काममा अगाडि बढ्छौं ।’

नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमानाकाहरुमा सरकारले कडाइ गरेको छ । मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको जानकारी गराएका छन् ।

सरकारले २ हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीहरुलाई उद्धार गरी स्वदेश ल्याएको थियो। उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन् । शनिबार (आज) खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १९३ जनाको थ्रोट स्वावको नमुना परीक्षणका लागि संकलन गरिएको छ । रिपोर्ट नेगेटिभ देखिएमा सबैलाई क्वारेन्टाइनबाट निकालिने छ ।