८ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै

pm office baluwatar

नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बुधबार ११ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

आजको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने र महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्ने नेता तामाङले बताउनुभयो । महाधिवेशन आयोजक कमिटीको सम्भवतः आजको बैठक अन्तिम हुने उहाँले बताउनुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता बदरबारे सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई सदस्यमा रुपान्तरण गरेपछि नेता माधवकुमार नेपाल पक्षका नेताहरु असन्तुष्ट रहँदैआउनुभएको छ । तर एमाले स्थायी कमिटीको मंंंगलबार बसेको बैठकले साविक एमालेको संरचनामा २०७५ जेठ २ अघि फर्कने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ गते दुई पार्टीको एकता भएपछि पार्टीको सांगठनिक नयाँ संरचना बनेको थियो । तर सर्वोच्चको फैसलापछि दुई दल अलग भएका थिए । एमालेले असार १८ गते शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ । जुन बैठक जेठ २ अघिको हैसियतमा बस्ने भनिएको छ । सो बैठकमा नेता नेपाल पक्षका सबै नेताहरुलाई बैठकका लागि आमन्त्रण गरिने बताइएको छ ।

पार्टी एकता जोगाउन एमालेको पुरानै संरचनाबाट बैठक आव्हान गरिएकाले नेता नेपाल पक्षका नेताहरुलाई अन्तिम अवसर दिइएकोबारेमा नेताहरुले टिप्पणी गरिरहनुभएको छ । शुक्रबारको बैठकमा नेता नेपाल पक्षका नेताहरु आउने नआउनेबारे औपचारिक धारणा सो पक्षले सार्वजनिक गरिसकेको छैन । आज बालुवाटारमा बस्ने बैठकले पार्टी एकताको प्रयासका बारेमा छलफल गर्ने बताइएको छ ।