१६ चैत्र २०८०, शुक्रबार

सुरक्षाकर्मीले विमानस्थलको विशिष्ट कक्षमा जान नदिएपछि भीम रावल आक्रोशित

Bhim Rawal 1

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आफूलाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान दिइएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि पूर्वउपप्रधान तथा रक्षामन्त्री भीम रावलले आक्रोश व्यक्त गरेका छन्। विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली बोक्ने बाटोबाट विमानस्थलबाट बाहिर निस्कनुपरेको उनकाे गुनासो छ।

शनिवार काठमाडौंबाट श्री एयरलायन्सको विमानमा ९:१२ मा धनगढी विमानस्थल पुगेका नेता रावलले विमानस्थलको विशिष्ट कक्षमा जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।

सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्री समेत भइसकेका भीम रावल अरु बेला विशिष्ट कक्षमा गएर पत्रकार भेटघाट समेत गर्ने गर्दथे तर शनिवार उनलाई विशिष्ट कक्षमा जान दिइएन ।

नेता रावलले पछि सोधखोज गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण आफूलाई विशिष्ट कक्षमा जान नदिइएको थाहा भएको बताएका छन् । धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रावलले पूर्व जानकारी विना विमानस्थलमा रोक लगाइनु आश्चर्यको विषय भएको बताए ।

‘आजै राष्ट्रपति फर्किने कार्यक्रम रहेछ । यसबारे मलाई प्रशासन वा पार्टी कतैबाट पनि जानकारी थिएन,’ उनले भने, ‘विमानस्थलको विशिष्ट कक्षमा सुरक्षा निकायले रोक्यो । राष्ट्रपतिको भ्रमणको सिलसिलामा सुरक्षा अध्ययन गरेर सुुरक्षाका विभिन्न आयाम हुन्छन्, ती कुरा म बुझ्दछु तर त्यसबारे पूर्व जानकारी गराइएको भए हुन्थ्यो ।’

पूर्व जानकारी विना आफूलाई विमानस्थलको विशिष्ट कक्षमा रोक्ने व्यवहारले आश्चर्य लागेको नेता रावलले बताए । ‘आश्चर्य के लागेको छ भने हामी पनि जनताबाट निर्वाचित भएर संसदमा पुगेका छौं । पार्टीलाई यहाँसम्म पुर्‍याउने भूमिकामा छौं । सुदूरपश्चिमकै जनताले विश्वास गरेर प्रतिनिधि सभामा पठाएका छन्,’ उनले भने, ‘प्रशासनको जिम्मेवार व्यक्तिले पूर्व जानकारी दिनुभयो । जानकारी अनुसार गर्न मलाई कुनै अप्ठ्यारो छैन । कुनै जानकारी नगराएर त्यसरी त्यहाँबाट किन त्यस्तो व्यवहार गरियो मलाई आश्चर्य लागेको छ । यो गणतन्त्र हो । यो गणतन्त्रमा हामी जनतालाई सार्वभौम भन्छौं । जनताका प्रतिनिधि जो निर्वाचित भएर जान्छन्, प्रतिनिधिको पनि आफ्नो स्थान हुन्छ । हामी जत्तिको व्यक्तिलाई पूर्व जानकारी हुनुपर्छ ।’

रावलले भने, ‘विशिष्ट कक्षमा को–को, कस्ता–कस्ता व्यक्ति  जानपाउँछन्? भन्ने सूची बनाइयो र त्यसमा हाम्रो पद परेन भने सर्वप्रथम त्यो कार्यान्वयन गर्न म तयार छु।’ उनले सुरक्षामा खटिएका सुरक्षाकर्मी नभई सुरक्षा व्यवस्था मिलाउने व्यक्तिलाई दोषी बनाए। उनले भने, ‘सुरक्षाकर्मीलाई दोष छैन। उनीहरुले माथिको आदेशमा काम गर्छन्।’

एक अर्को प्रशंगमा बोल्दै रावलले राष्ट्रियसभा सदस्यबारे पार्टी केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सबैले मान्नु पर्ने बताए। उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा छ।’ उनले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए। उनले भने, ‘पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक हो तर, यसले पार्टी फुट्छ भन्नु हुँदैन।’ उनले कार्यकर्ताले निराश हुनुभन्दा ठीकबेठिक छुट्याएर अघि बढ्नुपर्ने सुझाव दिए।