१५ चैत्र २०८०, बिहीबार

भरतपुर कारागारमा रहेका कैदीबन्दीको कोरोना संक्रमणले मृत्यु

chitwan karagar

चितवनस्थित भरतपुर कारागारमा रहेका एक जना कैदीबन्दीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मृत्यु भएको छ ।

लमजुङको बेशीशहर नगरपालिका–१० का २४ वर्षीय कैदीबन्दी सुरज भण्डारीको आज (सोमबार) विहान मृत्यु भएको हो । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ३:२० बजेको समयमा मृत्यु भएको भरतपुर कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार ती कैदीमा मुटुको समस्या थियो भने उनको अवस्था गम्भिर थियो । अस्पतालका चिकित्सकले कोरोना संक्रमण र मुटुको समस्याले उनको मृत्यु भएको जनाएको छ ।

लागुऔषध मुद्धामा पुर्पक्षका लागि नवलपुरासीको कारागारमा रहेका भण्डारीको अवस्था गम्भिर बनेपछि अदालतको अनुमतिमा उनलाई भरतपुर कारागार पठाईएको थियो । यही असार ४ गते भरतपुर आएको भण्डारीको अवस्था झनै जटिल बनेपछि उनलाई ९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपश्चात उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक भण्डारी २०७८ वैशाख ५ गते लागूऔषध मुद्धामा पक्राउ परेका थिए । उनलाई मुद्धाको किनारा नलागेसम्म पूर्पक्षका लागि थुनामा पठाईएको थियो ।

भरतपुर कारागारमा अहिले ६७७ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ५१ जना महिला, ३ जना आश्रित बालिका र ६२३ जना पुरुष रहेका छन् ।