६ बैशाख २०८१, बिहीबार

प्रहरीको दादागिरि :बच्चा बोकेकी महिलालाई इन्स्पेक्टरले लाठी बर्साए!

police 1

नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नागरिक र प्रहरीबीचको दूरी हटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । प्रहरीले नागरिकको विश्वास जित्नका लागि यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसकै अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।

एक महिलाले हेम खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी हानेका हुन् ।

88028345 133313234701190 8527172672990216192 n

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।

प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्‍यो।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।

भिडियोमा देखिएका बेला उनी बच्चासहित छिन् । पौडेल महानगरीय प्रहरी वृत्त, भैंसेपाटीका इञ्चार्जको रुपमा कार्यरत छन् । अर्काको घरमा छिरेर हुलहुज्जत र तोडफोड गरेपछि सामान्य बल प्रयोग गरिएको पौडेल बताउँछन् ।

श्रेष्ठले आफूहरुलाई लाठीचार्ज गर्नुले प्रहरीको नियत प्रष्ट पारेको बताएकी छन् ।

के हो घटना ?

महानगरीय प्रहरी परिसर, ललितपुरमा भदौमा खत्रीले तीन महिलाले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएका थिए । मोबाइलसमेत लुटेर लगेको उनको दाबी थियो । उजुरीउपर सुनुवाई गर्ने क्रममा अन्य दुई जना भागे भने शाहसँग प्रहरीले सोधपुछ गर्‍यो ।

त्यस क्रममा शाह र खत्रीको सम्बन्ध सतहमा आयो र अनुसन्धानले अर्को मोड लियो । यो विषय प्रहरीमा पुग्नु अगावै शाहले सामाजिक सञ्जालमा त्यसबारे अभिव्यक्ति दिँदै आएकी थिइन् ।

शाहले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गरिन् । त्यसैले नाता प्रमाणित गरिदिनुपर्ने उनको माग थियो । तर, खत्रीले द्वन्द्वको समयमा शाह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको दाबी छ ।

ललितपुर प्रहरीले दुवै पक्षलाई राखेर ६ पटकसम्म छलफल गरायो । महिलाले खत्रीलाई छोराछोरी पढाउन २० लाख रुपैयाँ पनि दिएको दाबी गरेकी छन् । त्यो पनि फिर्ता पाउनुपर्ने उनको दाबी छ ।

कानूनतः नाता प्रमाणितका लागि अदालत जानुपर्छ । यद्यपि, दुई पक्षबीच छलफलबाट कुनै निकास ननिस्किएपछि प्रहरीले घटनामा चासो दिन छाडेको थियो ।

Mala saha
आफूलाई सेनाका पूर्व जर्नेल बताउने हेम खत्री भनिने हेम थापाकी श्रीमती भएको दाबी गर्ने माला साह

अन्तिममा प्रहरीले शाहलाई कुनै वकिलको सहयोग लिएर अदालत वा महिला आयोगमा जान सुझायो । त्यसपछि खत्रीको घरमा आफूलाई मानवअधिकारकर्मी बताउने विभिन्न व्यक्तिले नियमितजसो धर्ना दिन थालेका थिए ।

बिहीबार पनि यही क्रममा महिलाको एक हुल युट्युबरसहित धर्ना दिन पुगेको प्रहरी अधिकृत बताउँछन् । भित्र छिरेर तोडफोड गर्न थालेपछि घरमा रहेकी छोरीले पूर्वजर्नेल खत्रीलाई खबर गरिन् । त्यसबेला खत्री अस्पतालमा थिए भने घरमा छोरी मात्र थिइन् ।

खत्रीले प्रहरीमा खबर गरेपछि इन्स्पेक्टर पौडेल नेतृत्वको टोली उनको घरमा पुगेको थियो । त्यसक्रममा उनले बल प्रयोग गरेका हुन् । बच्चासहित बसेकी महिलालाई लाठी हानेपछि अहिले प्रहरीको आलोचना भइरहेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ।   

बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै थिए। तर महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागे।

एसएसपी राईले भने महिलामाथि पुरूष प्रहरीले लाठी हानेको जानकारी आफूलाई नभएको बताए।

‘सबै ठाउँमा महिला प्रहरी हुँदैनन्, पिट्नुभन्दा पनि अलि यसो गरेका होलान्,’उनले सेतोपाटीसँग भने,’नहान्न पर्ने हो के रहेछ हेरेर कारबाही गर्छु।’

लाठी प्रहार गर्ने इन्सपेक्टर छानबिनको दायरामा

बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने इन्सपेक्टर छानबिनको दायरमा आएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको निर्देशन पछि अहिले महानगरीय प्रहरी परिसर ललितपुरले प्रहरी निरीक्षक पौडेलमाथि छानबिन शुरु गरेको हो ।

महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले इन्सपेक्टर पौडेलमाथि छानबिन गरी दोषी देखिए कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको बताए ।

‘बच्चा बोकेकी महिलामाथि पुरुष प्रहरीले लाठी चलाउनु आफैंमा गम्भीर विषय हो । महिलाको सन्दर्भमा महिला प्रहरी नै परिचालन हुनुपर्ने हो । त्यसमा कुनै विकल्प हुँदैन,’ डीआईजी पोखरेलले भने, ‘भैंसीपाटीको घटनाका सन्दर्भमा पनि केही कमजोरी भएको देखिएको छ । सत्यतथ्य छानबिन गरेपछि दोषी देखिएकालाई कारबाही हुन्छ ।’

ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाबारे छानविन भइरहेको बताएका छन् ।

    सम्बन्धित समाचार...