१ जेष्ठ २०८१, मंगलवार

९ वर्षसम्म महाधिवेशन नगर्ने पार्टी माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध

Prabhu Sah
फाइल फोटो

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रभु साहले निर्वाचन आयोगलाई ९ वर्षसम्म पनि पार्टीको महाधिवेशन नगर्ने पार्टी अध्यक्ष र पार्टी कसरी वैधानिक भयो ? भन्दै प्रश्न गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्ने क्रममा नेता साहले वि.सं.२०६९ सालपछि सो पार्टीको महाधिवेशन नभएको भन्दै नेपालको संविधान अनुसार सो पार्टी खारेज भइसकेको जिकिर गर्दै निर्वाचन आयोगले दबाब र प्रभावमा नपरी आफ्नो कारवाही अगाडि बढाउनुपर्ने माग गरे ।

सम्बोधनको क्रममा उनले आवाधिक महाधिवेशन नगर्ने माओवादी केन्द्र पार्टी र त्यसका अध्यक्ष प्रचण्ड दुबै अवैध भएको जिकिर गरेका छन् । ‘म प्रचण्डलाई सोध्न चाहन्छु माओवादी केन्द्र पार्टी वैधानिक छ कि छैन् ?’ उनले भने, ‘आफूलाई पार्टीको अध्यक्ष बन्नुहुन्छ । कुन नियम कानूनले उनी अध्यक्ष भए म सोध्न चाहन्छु ।’

उनले ५ वर्षमा एक पटक कुनैपनि पार्टीको महाधिवेशन हुनुपर्ने संविधानमा उल्लेख भएपनि माओवादी केन्द्रले ९ वर्षसम्म पनि महाधिवेशन नगरी चुपचाप बस्दा निर्वाचन आयोगले पनि केही नगरेको आरोप लगाउँदै निर्वाचन आयोगलाई संवैधानिक निकायको रुपमा निष्पक्ष भएर काम गर्न र कुनै नेताको कठपुतली नबन्न सुझाए ।