१३ बैशाख २०८१, बिहीबार

वामदेवको निर्णय सर्वसम्मत हो, प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नुपर्छ: प्रचण्ड

Prachanda chitwan

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्ने बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए । वामदेव गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कल्पना कसैले नगरे हुन्छ।’

प्रचण्डले भने, ‘महासचिव र प्रवक्ताले यो कुरा सार्वजनिक गरिसक्नुभएको छ, प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ, ‘तपाईंहरूले एकदुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले (प्रधानमन्त्री) ले मान्नुहुन्छ, मान्नैपर्छ।’

पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।’ प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो– ‘म अहिले त्यतातिर जानै चाहान्न । मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैनन् ।’

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए।

गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा  सदस्य बनाउने  मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले उक्त निर्णय आफूलाई मान्य नहुने भन्दै अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको बताएका छन्।

राष्ट्रिय सभामा खतिवडा र गौतम कसलाई पठाउने भन्ने रस्साकस्सी नेकपाभित्र अहिले पनि जारी छ।

आज बिहानमात्रै नेकपाका दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले प्रचण्डसँग खुमलटारमाछ छलफल गरेका थिए।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको उनले बताए । दाहालले भने, ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।’ प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको भन्दै उनले मैले ल्याएर केके गरे भन्ने तपाईहरुलाई थाहा नै छ नी भने । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया भएको उनले टिप्पणी गरे ।