१२ बैशाख २०८१, बुधबार

असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनःनिर्माणमा खटिएका इञ्जिनीयरको आन्दोलन दोस्रो चरणमा

ministry of education 1

असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माणमा खटिएका इन्जिनियर र सवइञ्जिनीयरले दोस्रो चरणको आन्दोलन थालेका छन् ।

पहिलो चरणमा यही असार १ गतेदेखि विद्यालय पुनः निर्माणका काम रोकी विरोध सुरु गरेका इन्जिनियरले आजदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सचिव, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक र उपनिर्देशकलाई ३१ वटै जिल्लाका इन्जिनियरले माग सम्बोधनको माग गर्दै सन्देश पठाएका छन् ।

शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इञ्जिनीयरलाई २०७६ देखि प्राधिकरणअन्तर्गत विद्यालय पुनःनिर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले राससलाई जानकारी दिनुभयो ।

सबै कर्मचारीलाई पुनः स्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको थियो ।

सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनियर र सब–इञ्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । गत जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएकामा अझै माग सम्बोधन नभएकाले दोस्रो चरणको आन्दोलन थालिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो । माग पूरा नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने समितिले जनाएको छ । इञ्जिनीयरका माग सम्बोधन गर्न आजै प्राधिकरण निर्देशक समितिको बैठक बसेको जनाइएको छ ।रासस