८ बैशाख २०८१, शनिबार

रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश, फ्रान्स बराबरीसँगै समूह विजेता

portugal vs france

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत साविक विजेता पोर्चुगलले समूह एफ को अन्तिम खेलमा फ्रान्सलाई बराबरीमा रोकेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि पोर्चुगल २-२ को बराबरीमा रोक्न सफल भयो ।

यस बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । अपराजित फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो । जर्मनीले आफ्नो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेपछि ४ अंक जोड्दै दोस्रो भयो । समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो । पोर्चुगल पनि उत्कृष्ट ४ तेस्रो स्थाको टोलीमा पर्दै अघि बढेको छ । ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरियो ।

पोर्चुगलले फ्रान्सविरुद्ध कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा अग्रता लिएको थियो । फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई १-० ले अघि बढाए ।

त्यसअघि १६ औं मिनेटमा फ्रान्सले अग्रता लिने प्रयास गर्दा गोलरक्षक रुइ प्याट्रीसिओ बाधक बनेका थिए । पल पोग्बाको सानदार पासमा किलीयन एमबाप्पेको प्रहारलाई प्याट्रीसिओले विफल पारेका थिए । २० औं मिनेटमा रोनाल्डोको प्रहार पनि पोस्टभन्दा बाहिर गएको थियो ।

Benzema France Goal 1024x532 1

इन्ज्युरी समयमा रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए । पोर्चुगलका डिफेन्डर नेल्सन समेडोले किलीयन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा करीम बेन्जेमाले सहजै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवातमै बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । पल पोग्बाको थ्रु पासमा बेन्जेमाले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्र भित्र पुगेर सुन्दर फिनिस गरेका थिए । असिस्टेन्ट रेफ्रीले सुरुमा अफसाइडको संकेत दिएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

५८ औं मिनेटमा पोर्चुगलले खेल बराबरी गर्ने सुवर्ण अवसर पायो । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन् । रोनाल्डोले गोलरक्षक लोरिसलाई विपरित दिशामा पठाउँदै खेल २-२ को बराबरीमा ल्याए । यस गोलसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि दाइले राखेको १ सय ९ गोलको कीर्तिमान समेत बराबरी गरे ।

६८ औं मिनेटमा फ्रान्स पुन: अग्रता लिनबाट थोरैले चुक्यो । पोग्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोर्चुगलका गोलरक्षक रुई प्याट्रीसिओले बचाएपछि क्रसबारमा लागेर फर्किएको थियो । फ्रान्सले खेलको अन्त्यतिर बल पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेपनि पोर्चुगल रक्षात्मक रुपमा बलियो प्रदर्शन गर्दै अंक जोड्न सफल रहयो ।