२४ बैशाख २०८२, बुधबार

स्वीडेन बन्यो युरोकप समूह ‘ई’ को विजेता, स्लोभाकियाविरुद्ध स्पेनको शानदार जित, पोल्यान्ड भने प्रतियोगिताबाट बाहिरियो

spain

१६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति भएको खेलमा स्पेनले शानदार जित हात पारेको छ ।

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह ई को अन्तिम खेलमा स्लोभाकियाविरुद्ध फराकिलो जित निकाल्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकियालाई ५-० ले पराजित गरेको स्पेनका लागि अर्को खेलमा स्वीडेनले जितेपछि समूहको दोस्रो स्थानमा रहँदै अघि बढेको हो ।

यस जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै अन्तिम १६ को यात्रा तय गरेको छ । अर्को खेलमा स्वीडेनले पोल्यान्डलाई ३-२ ले पराजित गरेपछि स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्वीडेन भने ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो । यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै चौथो स्थानमा छ । पोल्यान्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।

नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको हो। समूह ई को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जीत दिलाए । यसअघि इमिल फ्रोसबर्गले दुई गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जीत दिलाए ।

sweden

स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाउँदै २-० को अग्रता बनाएको छ । खेलको १२ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न नसक्दा खेल गोलरहित नै रहेको थियो । मोराटाले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक डुब्राभ्काले विफल पारेका थिए ।

पेनाल्टी विफल पार्दै नायक बनेका डुब्राभ्का ३० औं मिनेटमा भने खलनायक बने । डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा स्पेनले अग्रता दोब्बर पार्यो । डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० ले अघि बढाएका थिए । स्लोभाकियाको डिफेन्सले कर्नरमा राम्रो क्लिअरेन्स गर्न नसक्दा जेरार्ड मोरेनोले दिएको क्रसलाई लापोर्टले हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा थप आक्रामक देखिएको स्पेनले ५६ औं मिनेटमा नै ३-० को अग्रता लियो । पाब्लो सराबियाले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिसिङमा गोल गर्दै स्पेनलाई सहज जिततर्फ उन्मुख गरे । उनले जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसलाई फार पोस्टमा गोल गरेका थिए ।

polnd

६७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेसले स्पेनको अग्रता फराकिलो पारे । कर्नरबाट बनेको मुभमा टोरेसले गोल गरेका थिए । कोके, सराबिया र पेड्रीले बनाएको आकर्षक मुभलाई म्यानचेस्टर सिटीका फरवार्डले गोलमा परिणत गरेका थिए । उनले सराबियाको अन्तिम क्रसलाई ब्याकहिल फ्लिकमार्फत सहजै गोल गरेका थिए ।

७१ औं मिनेटमा जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेन ५-० ले अघि बढ्यो । पाउ टोरेसको प्रहारलाई गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेपनि त्यसपछि आएको बललाई कुच्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।