१२ बैशाख २०८१, बुधबार

विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

sailendra thapa

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्ह गर्नुभयो ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्धान कार्यालमया आयोजित समारोहमा निर्देशन दिँदै उहाँले जनशक्ति तथा साधन स्रोतको उचित व्यवस्थापन गरी प्रकोप नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापाले आफू मातहत प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन, उनीहरुको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष ध्यान दिन पनि अनुरोध गर्नुभयो ।

उहाँले हिंसात्मक गतिविधि, जघन्य, साइबर, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेका कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्न पनि सुझाव दिनुभयो ।

घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले आर्थिक अनुशासनप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो । गृहमन्त्रालयले हालै १९ प्रहरी नायब महानिरीक्षक र १५ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जस अनुसार सातै प्रदेशका प्रहरी प्रमुख समेत फेरिएका छन् ।