१२ बैशाख २०८१, बुधबार

इरानमा मन्त्री देखी उपराष्ट्रपति सम्म कोरोना संक्रमण

3D medical animation corona virus

इरानमा उच्च सरकारी अधिकारीहरूमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । उपस्वास्थ्यमन्त्रीपछि इरानकी उपराष्ट्रपतिलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी मिडियाले जनाएका छन् । यसअघि त्यहाँका उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई पनि कोरोना भाइरस संक्रमण देखिएको थियो।

क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्। उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन्। उनी इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन्।

इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोरोना भएको छ । तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ ।

इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी संक्रमित देखिएका छन्।

एजेन्सी