४ बैशाख २०८१, मंगलवार

मेलम्चीकाे मुहानसम्म पुग्न सकेन प्राविधिक टोली

melamchi headwork

बाढीका कारण भएको क्षति आकलन गर्न गएको प्राविधिक टोली मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म पुग्न नसकी फर्किएको छ ।

आयोजनाका हेडवक्र्स (मुहान)सम्म पुग्ने लक्ष्यसहित सोमबार काठमाडौँबाट प्रस्थान गरेको थियो तर मुहानभन्दा पाँच किलोमिटर वरबाटै टोली मङ्गलबार फर्किएको हो । यसअघि शनिबार पनि प्राविधिक र विज्ञसहितको टोली आयोजनाको मुहानसम्म पुग्ने भनेर मेलम्ची गएको थियो तर मेलम्ची बजारभन्दा तीन किलोमिटरमाथि पुगेर फर्किएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सोमबार साँझ सिन्धुपाल्चोकको क्युल भन्ने ठाउँसम्म पुगेको टोली त्यहाँबाट अगाडि बढ्न नसकी काठमाडौँ फर्किएको जानकारी दिनुभयो । क्युलदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान पाँच किलोमिटरको दूरीमा छ ।

निरीक्षणका लागि आयोजनाका डिभिजनल इन्जिनियर माधव नेपालको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना, निर्माण कम्पनी र परामर्शदाता कम्पनीका प्राविधिकसहितको सात जनाको टोली मुहानतर्फ प्रस्थान गरेको थियो ।

आयोजनाको पुनर्निर्माणका लागि नेपाली सेना र सडक विभागसँग सहयोग मागेर मेलम्ची खानेपानी आयोजनाले पत्राचार गरिसकेको छ । “आयोजना स्थलसम्मको पहुँचमार्ग जति छिटो बन्छ, त्यति नै छिटो आयोजनाको काम फेरि सुरु गर्न सकिन्छ”, प्रवक्ता पन्तले भन्नुभयो । मेलम्ची खानेपानी आयोजनाका अनुसार मुहानसम्म पुग्न विभिन्न भागमा गरी १० किलोमिटर र चारवटा बेलिब्रिज निर्माण आवश्यक छ ।