७ बैशाख २०८१, शुक्रबार

कोभिड अस्पतालमा भ्रष्टाचार भएको भन्दै प्रदर्शन

pradarsan 750x375 1

जनकपुरधामको मनिपाल शिक्षण अस्पतालमा प्रदेश सरकारले सुरु गरेको ‘कोभिड विशेष अस्पताल’मा व्यापक भ्रष्टाचार भएको भन्दै यूवाहरु आन्दोलित भएका छन् ।

मंगलवार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी युवाहरुले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नाराबाजी गरे । कोभिड विशेष अस्पतालमा गरेको खर्च पारदर्शी गर, भर्ना प्रक्रिया सार्वजनिक गर, मुख्यमन्त्री मुर्दावाद जस्ता नारा युवाहरुले लगाए । मधेस भवन क्षेत्र वरिपरि स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको छ । यद्दपी युवाहरु प्रहरीलाई छल्दै प्रदर्शन गरे । नेकपा एमालेसँग आवद्ध युवा मुन्जय राउतको नेतृत्वमा प्रदर्शन उत्रेका यूवाहरुले खर्च रकम र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘कोभिड विशेष अस्पनाल सञ्चालनको नाममा ९ करोड रुपैया खर्च भएको सुन्दैछु’, प्रदर्शनको नेतृत्व गरेका युवा राउतले भने, ‘तर यतिधेरै रकम खर्च भएको छैन । यसमा व्यापक भ्रष्टाचार भएको देखिन्छ । त्यसैले कहाँ कति खर्च भयो भन्ने कुरा पारदर्शी गर्नुपर्छ ।’ अस्पतालमा कर्मचारी पनि प्रक्रिया पुरा नगरी राखेको यूवाहरुको आरोप छ । ‘कर्मचारी भर्ना गर्दा कुनै मापदण्ड अपनाइएको छैन’, आन्दोलित युवाहरु भन्छन्, ‘कति कर्मचारी राखेको कुरा पनि सार्वजनिक गर्न चाहेका छैन । कतिपय कर्मचारी घरमै बसेर तलब खाइरहेका छन् ।’