१३ बैशाख २०८१, बिहीबार

युरोकप: इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा, चेक रिपब्लिक अन्तिम १६ मा स्थान बनाउन सफल

england

युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को अन्तिम खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेको छ । पहिलो हाफमा रहिम स्टर्लिङले गरेको गोलमा इंग्ल्यान्ड १-० ले विजयी रहयो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोलरक्षकलाई चिप गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । चेकको डिफेन्स संयम हुन नपाउँदै गरेको आक्रमणमा स्टर्लिङले अफसाइड ट्रयाप र गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो ।

स्टर्लिङकै गोलमा इंग्ल्यान्डले १२ औं मिनेटमा अग्रता लियो । युरोमा पहिलो पटक सुरुवाती रोजाइमा परेका ज्याक ग्रिलिसको क्रसमा स्टर्लिङले हेडरमार्फत गोल गरेका थिए । २५ औं मिनेटमा इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने प्रयासमा गोलरक्षक भाच्लिक बाधक बने । पेनाल्टी क्षेत्रभित्र केनले बललाई नियन्त्रणमा राख्दै गरेको अन्तिम प्रहार गोलरक्षकले विफल पारेका थिए ।

czech republic

२७ औं मिनेटमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । टोमस होलेसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लामो प्रहारलाई पिकफर्डले दायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए । ३५ औं मिनेटमा टोमस सौचेकले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन नसक्दा चेक खेलमा फर्कन सकेन । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा पाएको बललाई बाहिर प्रहार गरेका थिए ।

दोस्रो हाफमा चेकले केहि आक्रमणको प्रयास गरेपनि इंग्ल्यान्डले खेलमा फर्कने अवसर दिएन । इंग्ल्यान्डले दोस्रो हाफमा गोल गरेपनि अफसाइडका कारण त्यसले मान्यता पाएन । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले गरेको गोललाई भीएआरले अफसाइड दिएको थियो ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्दै समूह डी को विजेता बनेको छ । पराजित चेक ४ अंक जोड्दै भने तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । क्रोएसियाले स्कटल्यान्डलाई ३-१ ले हराएपछि चेक गोलअन्तरका आधारमा तेस्रो स्थानमा पुगेको हो

    सम्बन्धित समाचार...