७ बैशाख २०८१, शुक्रबार

जन्मदिनको केकबारे प्रधानमन्त्रीको जवाफ- केक खाएको पत्रकारले देखिसहेनन्

KP Oli 2

म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याऊ भन्नु त!

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जन्मदिन मनाउन पाँचथर पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको टिप्पणी गरेका छन् ।

पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता निकै खुसी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनता खुशी भएको देखेर पत्रकार रोएको टिप्पणी गरे ।

नेकपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको अवसर पारेर केक काटिएको प्रसंग पनि उल्लेख गरे ।

तेह्रथुम पुगेको समयमा जन्मदिन परेको र केक काटिएको उल्लेख गर्दै ओलीले केक खाएको पत्रकारले देखिनसहेको आरोप लगाए ।

‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो,’प्रधानमन्त्री ओलीले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन् ।’

पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए रु’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे ।

‘गाउँमा बिजुली आएको थियो। खानेपानी आएको थियो। बाटो आएको थियो। बैंक आएको थियो। त्यही दिनमा मेरो जन्म दिन परेको थियो,’ प्रधानमन्त्रीले भने,‘पत्रकारले त्यहाँको विकास र खुसी देखेनन्। भातको हिसाब गरेर बसिरहेका छन्।’

प्रधानमन्त्रीले यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो। आफ्नो गाउँको मान्छे प्रधानमन्त्री भएको आएको देखेर दिदीबहिनी खुसी भए। बाजागाजा ल्याए। दशौं हजार मान्छे रमा,’ ओलीले भने,‘ पत्रकार धुरूधुरू रोए।

जन्मदिनमा कसैले केक, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको ओलीले बताए । ‘म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के–के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’

नाकाबन्दी भएको बेला चुप लागेर बस्नेहरु अहिले केक काट्दा उफ्रिएको भन्दै ओलीले आक्रोश पोखे । ‘हिजो नाकाबन्दी हुँदा नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो’ ओलीले भने ।

प्रधानमन्त्री ओलीको जन्म दिनमा नेपालको नक्सा अंकित केक काटिएको भन्दै चर्को आलोचना भएको थियो ।