१२ बैशाख २०८१, बुधबार

मनाङका सुन्दर बस्ती मस्र्याङ्दीमा बग्दै

NL Manang marsyangdi river flood 1 scaled e1624188037872

लमजुङको सीमा म्यार्दी कट्नेबित्तिकै सडकको दायाँ पर्छ– मनाङ्को तालबजार । नासो गाउँपालिका–१ मा पर्ने तालबजारको सिरानतालमा बस्नुहुने डीलकुमारी गुरुङको घरबारी सबै मस्र्याङ्दीले बगाइसकेको छ । गुरुङको मात्रै होइन, सिरानतालका छवटा घर मस्र्याङ्दीले बगाएको छ ।
“यतिका वर्ष भयो । मस्र्याङ्दीमा बाढी त आउँथ्यो । यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ,” ७८ वर्षीया गुरुङले भन्नुभयो । भागेर ज्यान जोगाउन सफल गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । जेठ ३१ गते रातिदेखि सुरु भएको वर्षाले भोलिपल्ट उग्र रूप लिएपछि सिरानताल सबै बगायो । नजिकै तालगाउँको ६२ घर पूरै डुबानमा परे ।
नासो गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले तालगाउँ पूरै डुबेर गाउँले घरबारविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँघर सबै बग्यो । अब कहाँ कसरी बस्ने ?” मस्र्याङ्दीले धारापानीमा रहेको नासो गाउँपालिका–५ को कार्यालय,
सीमा प्रहरी चौकी, प्रभु बैङ्क र प्राइम कमर्सियल बैङ्कको शाखा कार्यालयसँगै स्थानीयवासीका घर पनि बगाएको छ । चामेमा पारिपट्टिका पाँच घर डुबानमा परेका छन् ।
मनाङ जिल्ला प्रशासन कार्यालयका अनुसार ५३ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई सयभन्दा बढी घर उच्च जोखिममा छन् । चामेपारिकी मेलिना गुरुङले भन्नुभयो, “बाढीले घरबार डुबायो । बारी सबै लग्यो । घरै छाडेर हिँड्नुपरेको छ । साह्रै मन रोएको छ ।” पाँच परिवार तलेखुमा गएर बसेको उहाँले बताउनुभयो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार बाढीका कारण चामे बजारका घर जोखिममा छन् । घर र होटल बगाएको उहाँले बताउनुभयो । “जोखिममा परेपछि सबैलाई माडाको कारागार भवनमा सारेको छु । बाढी अझै बढ्दै छ । हामी चिन्तामा छौँ,” उहाँले भन्नुभयो ।
माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे क्षेत्रमा पहिरो गएकाले मस्र्याङ्दी नदी थुनिने र खोलिने क्रम चलिरहेको उहाँले बताउनुभयो । हुम्डे क्षेत्रमा शनिबार दिउँसो आधा घण्टा मस्र्याङ्दी नदी थुनिएको थियो । पानीको सतह बढेका कारण चामेबाट माथिल्लो क्षेत्र जोड्ने पक्की पुल जोखिममा परेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक भासिएका छन् । हुम्डे विमानस्थलको माथिल्लो क्षेत्रमा सडक जोखिममा परेको छ । मस्र्याङ्दीले तान्दै लगेपछि हिँड्ने बाटोसमेत नभएको उहाँले बताउनुभयो । हुम्डेको बस्तीमा समेत बाढी पसेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बाढी दिउँसो आएका कारण मानिस ज्यान जोगाउन सफल भएको बताउनुभयो ।
“बाढीले मानिसको ज्यान मात्रै लगेन, घरबार सबै लग्यो, खेतबारी बगायो,” उहाँले भन्नुभयो, “टेलिफोन, बिजुली, इन्टरनेट, खानेपानी, सडक, बेलिब्रिज, झोलुङ्गे पुल र हिँड्ने बाटोसमेत छैन ।” नार्पाभूमिको फू गाउँदेखि दुई घण्टा पैदल यात्रामा पुगिने हिमालमुनिको कन्दरामा फसेका ५६ जनासहित बाढीमा फसेका १७४ जनालाई उद्धार गरेर सुरक्षित स्थलमा राखेको र २८ जनालाई काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।