१६ चैत्र २०८०, शुक्रबार

पर्सामा केही क्षेत्र खुकुलो बनाई असार १३ गतेसम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय

cdo office birgunj

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै अवधिलाई लम्ब्याएर आगामी असार १३ गते सम्म पुर्‍याउने निर्णय गरेको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै असार १३ गते सम्म पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि सोही आधारमा संक्रमक रोग ऐन २०२० को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ अनुरूप आगामी असार १३ गते राति १२ बजे सम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।

यसै गरी बैठकले निषेधाज्ञालाई परिमार्जन समेत गरेको छ । परिमार्जन सहित जारी गरिएको निषेधाज्ञामा अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बिच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्ने कुरा उल्लेख गरिएको छ ।त्यसै गरी सरकारी, सार्वजनिक, निजी बैक वित्तीय संस्था लगायतका सबै कार्यालयहरूले भोलि देखि स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई सञ्चालन गर्ने निर्णय गरेको छ बैठकले शैक्षिक संस्था, विद्यालय कलेज भने खोल्न नपाउने निर्णय गरेको छ ।

बैठकले खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित रुपमा सञ्चालन गर्ने र सो बाहेक अन्य पसललहरु बिहान १० बजे देखि साँझ ५ बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी/गराई सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।पसल सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।त्यसै गरी होटेल तथा रेस्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरूको परिपालना गरी टेक अबे सेवा र होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न सकिने निर्णय गरेको छ । यता बैठकले अत्यावश्यक सेवा बाहेकका सार्वजनिक यातायात सेवा भने तोकिएको अवधिभर सञ्चालन नहुने निर्णय गरेको छ ।

विकास निर्माणका कार्यहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने, उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण एवं निजी निर्माण जस्ता कार्यहरू सञ्चालन गर्न सकिने निर्णय गरेको छ भने वीरगन्जको इनरुवा नाका बाहेक पर्साका भारतबाट प्रवेश गर्ने अन्य नाकाहरू पूर्ण रुपमाबन्द नै रहने निर्णय गरेको छ ।