१५ चैत्र २०८०, बिहीबार

तनहुँमा कोरोनाको संक्रमण र मृत्युदर उच्च

tanahu DAO

तनहुँको शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकामा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि यिनै दुई पालिकामा बढी रहेको कार्यालयले जनाएको छ । त्यस्तै जिल्लाको ऋषिङ गाउँपालिकामा मृत्यु शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्ल गण्डकीमा ३१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने व्यास नगरपालिकामा १७ जनाको मृत्यु भएको छ ।

भिमाद नगरपालिकामा १२, भानु नगरपालिकामा ६, म्याग्दे गाउँपालिकामा ४, घिरिङ गाउँपालिकामा ३, बन्दिपुर गाउँपालिकामा २, देवघाट र आँबुखैरेनी गाउँपालिकामा १–१ जना र ऋषिङमा शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा महिलामा भन्दा पुरुषमा बढी कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । ५३.७ प्रतिशत पुरुष कोरोनाबाट संक्रमित भएका छन् भने ४६.९३ प्रतिशत महिला संक्रमित भएका छन् । आइतबारसम्म ७९१ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सबैभन्दा कम संक्रमित देवघाट गाउँपालिकामा र सबैभन्दा धेरै संक्रमित शुक्लागण्डकी र व्यास नगरपालिकामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको व्यास नगरपालिकामा १८०, भिमाद नगरपालिकामा ११८, शुक्लागण्डकी नगरपालिकामा २१२, भानु नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा ९५, घिरिङ गाउँपालिकामा ९, ऋषिङ गाउँपालिकामा २५, बन्दिपुर गाउँपालिकामा ९०, देवघाट गाउँपालिकामा ५, आँबुखैरेनी गाउँपालिकामा २६ जना गरी आइतबारसम्म कुल ७९१ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य सामाग्री आवश्यक मात्रामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लामा सामुदायिक भवन र अस्पतालमा नै स्थानीय तहको समन्वयमा आइसोलेसन बनाइएको छ ।

कोरोना संक्रमण देखिए समाजमा भेदभाव हुने भएकाले परीक्षण गर्न नआउने देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउनुहुन्छ ।

जनचेतना सुरक्षा निकायले माइकिङ गरे बढी प्रभावकारी हुने स्वास्थ्य कार्यालयले जनाएको छ । आइतबार स्वास्थ्य कार्यालय र जिल्लाका पत्रकार बिच भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलले गाउँ गाउँमा पिसीआरको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै संक्रमण दर कम नभएको बारे खोजी अनुसन्धान हुनुपर्ने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । स्थानीय तहले राम्रो काम गरेको प्रमुख वाग्लेले बताउनुभयो ।