४ बैशाख २०८१, मंगलवार

पहिरो हटाउन चिनियाँ टोली परिचालन, तामाकोशीकाे बहाव बढ्न सक्ने

तामाकोशी नदिको किनारमा रहेको किर्ने बजार

तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।

उक्त नदी तामाकोशी नदीमा आएर मिसिने गर्छ । शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा वर्षा भएपछि रोङ्सी खोला पहिरोले थुनिएको थियो ।
सो खोलामा आएको पहिरो हटाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ ।

‘हामी अहिले यसबारे छलफल गर्दैछौं । पहिरो खुलाउने क्रम जारी छ । पहिरो हटेपछि पानीको बहाव बढ्ने भएपछि केही ठाउँमा क्षति हुनसक्ने अनुमान गरिएको छ । त्यसैले स्थानीयलाई सचेत हुन अपिल गरेका छौं,’ उहाँले भन्नुभयो ।रोङ्सी खोलाको पानी तामाकोशीमा आएर मिसिन्छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ ।