१३ बैशाख २०८१, बिहीबार

नेदरल्यान्ड्स १३ वर्षपछि युरोकपको नकआउट चरणमा

netherlands

 युरो २०२० च्याम्पियनशिपमा नेदरल्यान्ड्सले अष्ट्रियालाई हराएको छ । युरोपका विभिन्‍न सहरमा जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा नेरद्ल्यान्ड्सले दोस्रो जीत निकालेको हो।

नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलअन्तरले हराएको हो । जितसँगै नेदरल्यान्ड्स २ खेलबाट ६ अंकसहित युरोको अन्तिम १६ मा प्रवेश गरेको छ । 

नेदरल्यान्ड्सको जीतमा मेम्फिस डिपाए र डेन्जल डुम्फ्रेसले १-१ गोल गरे । दुवै हाफमा १-१ गोल भएका थिए ।

खेलको ११औं मिनेटमा डिपाएले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नेदरल्यान्ड्स १-० ले अघि रह्‍यो ।

दोस्रो हाफको ६७औं मिनेटमा डुमफ्रेसले गोल गरेपछि नेदरल्यान्ड्सको अग्रता दोब्बर बन्यो । त्यसपछि कुनै गोल भएनन् र नेदरल्यान्ड्स लगातार दोस्रो जीत निकाल्न सफल भयो ।

जीतसँगै २ खेलबाट ६ अंक भएको नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान पक्का गरेको छ । डच टोली १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो । यसअघि टोली सन् २००८ को युरोमा समूह चरण पार गर्न सफल रहेको थियो ।

पराजित अस्ट्रिया ३ अंकसहित तेस्रो स्थानमा छ र अघिल्लो चरणमा पुग्‍ने सम्भावना भने जीवितै रहेको छ ।