१३ बैशाख २०८१, बिहीबार

वीरगंजको जनजीवन सामान्य बन्दै, तीन दिनयता मृत्युदर शून्य

birgunj ghantaghar
फाइल फोटो

कोरोना संक्रमण नियन्त्रणमा आएसँगै पर्सा जिल्लामा ३ दिन देखि मृत्यु दर शून्यमा झरेको छ भने थप संक्रमित हुनेको सङ्ख्या समेत ३ जना मात्रै रहेको छ ।

वैशाख र जेठ महिनामा संक्रमित तथा मृत्युदर अत्यधिक रहेको वीरगंजमा असार शुरु भएसँगै मृत्यु दर शून्य भएको छ भने सङ्क्रमितको सङ्ख्या समेत अत्यन्तै न्यून रहेको छ । कोरोना संक्रमण सम्बन्धी रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञा सँगै अस्पतालहरूमा भई रहेको उपचार र अपनाइएको सतर्कताका कारण कोरोना संक्रमण नियन्त्रणमा आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र प्रधानले बताउनुभयो ।

अहिले वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगायतका १३ वटा अस्पतालहरूमा पर्साका १६ जना सङ्क्रमितहरूको उपचार भई रहेको छ भने छ जना आइसियु र एक जना भेन्टिलेटरमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रणमा आएसँगै पर्साका जनजीवन निषेधाज्ञा खुकुलो बनाइएपछि सामान्य बन्दै गएको छ । असार १ गते देखि तोकिएका पसलहरू दिउँसो १२ बजे सम्म खुलेका छन् ।

यसैबिच वीरगंजमा कोरोना सङ्क्रमणको तेस्रो लहरको पूर्व तयारी समेत शुरु गरिएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा विशेष गरी बालबालिका प्रभावित हुने विज्ञहरूको दाबी अनुरूप वीरगन्ज उद्योग वाणिज्य सङ्घको आर्थिक सहयोगमा नारायणी अस्पतालको भवनमाथि ३० बेडको बाल सघन चिकित्सा इकाई को निर्माण सम्पन्न गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता सहित तोकिएका उमेर समूह तथा उच्च जोखिममा रहेका व्यक्तिहरूलाई खोप लगाउने अभियान समेत अहिले पर्सा जिल्लामा जारी रहेको छ ।