१३ बैशाख २०८१, बिहीबार

जाजरकोटमा गोठालो गएका सात जना बेपत्ता

bepatta
सांकेतिक तस्विर

जाजरकोटको कुशे गाउँपालिकाको जलजला पाटनमा गोठाला गएका सात जनालाई हावाहुरीले उडाएर बेपत्ता बनाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनु भयो । उनीहरू गाई, बाख्रा र भैँसीलाई पाटन छोड्न जेठ ३१ गते पाटन पुगेका र हावाहुरीले उडाएर बेपत्ता बनाएको अध्यक्ष बस्नेतले बताउनु भएको छ ।

बेपत्ता हुनेहरूमा कुशे गाउँपालिका–८ औलरिजाका ३५ वर्षीय दिल बहादुर खड्का, २५ वर्षीय विक्रम खडका, २८ वर्षीय चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीय धनसरा खड्का र ९ नम्बर पैंकका ४० वर्षीय कृष्ण रोकायलाई हावाहुरीले उडाएर बेपत्ता बनाएको हो । सँगै गएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का चार दिनपछि घर फर्केका छन् ।

पाटनमा बेपत्ता भएका ७ जनाको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सहित सात जनाको प्रहरी टोली पाटन तर्फ पठाइएको जाजरकोटका प्रहरी प्रमुख मधु कुमार थापाले जानकारी दिनु भएको छ ।

प्रतिकुल मौसम र भौगोलिक विकटता टेलिफोन सम्पर्कभन्दा बाहिर रहेको उक्त पाटन क्षेत्रमा खोजी कार्य गर्न गाह्रो भएको प्रहरी प्रमुख थापाको भनाइ छ ।