१३ बैशाख २०८१, बिहीबार

अकबर बिरबलको कथा सुनाउँदै बाबुरामले भने, जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको महल कसरी ठडियो ?

babu

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई सम्झँदै अकबर बीरबलको कथा सुनाएका छन् ।

भट्टराईले सबै नेता र सांसदहरुको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले आफू लगायत सबैको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका हुन् ।

आफूहरु जनयुद्धको बेलामा साथीहरुले दिएको जडौरी लुगा र चप्पलको भरमा हिँडेको भन्दै उनले आज कसरी सुटेड बुटेड भएका छौं भन्दै प्रश्न गरे ।

‘सबैको सम्पत्ति छानवीन गरौं । म लागयत हामी सबैको । हिजो हामी साथीहरुले दिएको जडौरी लुगा र साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्यौं । आज हामी कसरी सुटेड बुटेड भएका छौं कसरी चिल्ला कार चढेर हिँडेका छौं । कसरी महल भएका छन्’ डा भट्टराईले प्रश्न गरे ।
उनले केही दिनअघि प्रधानमन्त्रीको जन्मघरको तस्वीर देखेको र आफ्नो पनि त्यस्तै बुकुरो घर गोरखामा रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री ज्यू को अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरि, मेरो पनि त्यस्तै छ तर अलि राम्रो छ गोर्खामा । त्यस्तो बुकुरो घर भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं ?’ उनले प्रश्न गरे ।

‘म अलिकति गणितमा चासो राख्न मान्छे पनि हो । अर्थमन्त्री पनि भइटोपलेको मान्छे’ संसदमा उनले भने,‘हाम्रो कमाइले लाख प्रयास गर्दा पनि, हाम्रो जुन दृश्य कमाइ छ तपाई हाम्रो जो सुकैको दृश्य कमाइले त्यो बुकुरो घरबाट यहाँ काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन यसको छानवीन गरौं यसको निमित्त म सबैसँग आग्रह गर्छु ।’

भट्टराईले प्रिन्टिङ प्रेस प्रकरणसँग जोडेर उक्त कथा सुनाएका हुन् । अकबर राजाले आफ्नो जुँगा तान्नेलाई के सजायँ दिने भनेर सोध्दा अरु गम्भीर सजायहरु सिफारिस गरिरहँदा बीरबलले मुसुमुसु हाँस्दै मिठाई खुवाउने पर्ने सुझाएको प्रसंग उनले सुनाए । ‘बीरबलको जवाफ थियो तपाईंको जुंगा तान्न तपाईंकै काखमा बसेको नातिले बाहेक कसले सक्छ ? उसलाई त मिठाई नै खुवाउनुपर्छ नि !’ बीरबलको जवाफ सम्झाउँदै उनले भने ।

उनले सरकारको दुईवर्षे कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भएको टिप्पणी गरे । ‘सरकारको दुई वर्षको कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भन्ने टिप्पणी भुइँ तहका जनताबाट मैले सुनिरहेको छु,’ उनले भने, ‘कतिपय मानिसहरूले यो दुई वर्ष खेर गएका वर्ष भनेर भनेका छन् । विषयमा छुट्टै छलफल होस् ।’

उनले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरे । उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।