११ बैशाख २०८१, मंगलवार

एमाले फुटाउने दाउपेचमा कांग्रेस र माओवादी केन्द्र,नेपाललाई प्रधानमन्त्री सम्मको आश्वासन

Deuba Prachand Madhav Nepal

कांग्रेस तथा नेकपा माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्ष त माधव नेपाललाई रातोदिन ‘पुस’ गर्नेमै व्यस्त देखिन्छन् । केही दिनअघि सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको क्यान्टिनमा एमालेनेता तथा निवर्तमान सांसद सोमनाथ पाण्डेले २०५४ सालमा नेकपा एमाले फुटेपछिको एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो। नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान संघले विदेशी कम्युनिष्ट पार्टीका भातृ संगठनहरूको सहकार्यमा कृषि तथा कृषि मजदुरहरूका लागि पनि काम गर्ने भएकाले त्यहाँका कम्युनिष्ट पार्टी आवद्ध किसान नेताहरू नेपाल आइरहँदा रहेछन् ।

२०५४ सालमा पार्टी विभाजन भएका बेला पनि कुनै विदेशी किसान नेता नेपालमा आएका र उनले नेकपा एमाले फुट्नुको कारण के रहेछ भनेर किसान संघका नेतासँग ‘ह्वाई सीपीएन युएमएल ब्रेक कमरेड?’ भनेर अंग्रेजीमा सोधेछन्। त्यसको जवाफमा ‘सीपी मैनाली पुस द फिंगर टु वामदेवःएनस, देन सीपीएन युएमएल ब्रेक कमरेड।’ भनेका थिए रे । त्यो कुरा सुनेपछि क्यान्टिनमा चिया खाँदै गरेका हामीहरू निकै हाँस्यौं र अहिले पनि एकले अर्काको पछाडिबाट घोच्ने प्रवृत्ति हावी भएको र नेताहरू पनि त्यही घोचाईका पछाडि लागेकाले यो परिणाम आएको हो कि भन्ने पनि विश्लेषण भएको थियो । २०५४ सालमा छैटौं महाधिवेशन पछि नेकपा एमाले औपचारिक रूपमा विभाजन भयो । विभाजित पार्टी नेकपा माले बन्यो । त्यसको नेतृत्व वामदेव गौतम, सहाना प्रधान, सीपी मैनालीहरूले गरेका थिए भने नेकपा एमालेको नेतृत्व माधव नेपाल, केपी ओलीहरूले गरेका थिए ।

त्यसअघि २०५१ सालमा संसद्मा सबैभन्दा ठूलो दलको रूपमा स्थापित भई नेपालमा पहिलो कम्युनिष्ट पार्टीको सरकार बन्यो । जनमुखी कार्यक्रम लागू गरी विश्वमा नै चासोको रूपमा हेरेको यस पार्टीले २०५४ को स्थानीय निकायको निर्वाचनमा करिब दुईतिहाई जितेपछि झन् देशीविदेशी प्रतिकृयावादीहरूको तारो बन्यो यो पार्टी । त्यो बेला पार्टी विभाजन भएको बहाना जे भनिए पनि विभिन्न देशीविदेशी शक्तिहरू तथा यस्तै प्रकारका पछाडिबाट औंला घोच्नेहरूको बाहुल्यता, आन्तरिक व्यक्तिगत टकरावका कारण पार्टी विभाजन भएको केहीवर्ष पछि एमाले र मालेको एकीकरण हुँदा छर्लंगै भयो ।

पत्रपत्रिकामा आएको समाचारअनुसार माधव नेपाल समूहका केन्द्रिय नेताहरूको बैठकमा बहुसंख्यक सदस्यहरूले कुनै पनि हालतमा यो समूह केपी ओलीसँग मिल्नुहँुदैन, अलग्गै पार्टी बनाएर जानुपर्छ भन्नेहरूको बाहुल्यता रहेको छ अरे ! जुन कुरा रामकुमारी झाँक्री, विरोध खतिवडा, डा.वेदुराम भुसालहरूको पछिल्लोपटक मिडियामा बोलेका भाषाबाट प्रष्टै झल्किरहेको छ । नेपाल समूहका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण बिष्ट तथा केपी ओलीको पक्षका प्रदिप ज्ञवाली, ईश्वर पोखरेल लगायतका नेताहरूका बिचमा पछिल्लोपटक भएका वार्ताको खबरले वास्तवमा नेकपा एमालेलाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने चाहना राख्ने नेताकार्यकर्ताका लागि शुभखबर भए पनि यस लेखको शीर्षकझैं नेतालाई पछाडिबाट औंलाले ‘पुस’ गर्नेहरू भने बेखुसी भएका उनीहरूका सामाजिक सञ्जालका प्रष्फुटनबाटै झल्किन्छ । बैठकमा नै त्यस्ता नेताहरूले उल्टै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल गोकर्ण बिष्टहरूलाई शंकाको घेरामा राखेका थिए भन्ने भनाइ आएको थियो । त्यसपछि उनीहरूले आफूकेपी ओलीतिर लागेको नभई पार्टी एक बनाउन मात्र अनौपचारिक रूपमा पहल गरेको भन्दै उल्टै बैठकमा स्पष्टीकरण दिनु परेको थियो रे !

केपी ओलीले केही दिनअघि नेकपा एमाले एकताका लागि आह्वान जारी गरे। त्यसको आसय जेसुकै होस् तर यसअघिको माधव नेपाल पक्षको एउटै माग पार्टीलाई २०७५ जेठ २ गतेमा लैजानु प¥यो भन्ने भएबमोजिम पार्टी अध्यक्षको यो आह्वानले त्यही भन्छ । बिडम्बना त्यो आह्वानलाई कतिपय नेताकार्यकर्ताले ठाडै अस्विकार गरी ओलीले झुक्याउनल्याएको कार्ड हो भन्दै यसलाई कुनै हालतमा स्विकार्नुहँुदैन भनेर माधव नेपालको पछाडिबाट केहीले औंला घोचे । त्यसपछि बसेको बैठकमा पनि बहुसंख्यक नेतालाई त्यो आह्वानका पछाडि नलाग्न दवाब दिइएको भनिएको छ । यस आह्वानलाई पनिनेपाल पक्षले सकारात्मक ठानेको देखिएन । उल्टै यसलाई झुक्याउने खेल भएको भन्दैप्रतिउत्तर जवाफ पठाइएको छ । त्यो समूहबाट सामाजिक सञ्जालमा गालीगलौजको तहमा पुगेर पार्टी एकीकरण गर्नुहँुदैन भन्नेहरूको बाहुल्यता देखिएको छ ।

२०५४ सालमा नेकपा एमालेले जनताबाट पाएको विश्वासलाई के कसरी चकनाचुर गर्न सकिन्छ भनेर दाउ खोजिरहेका नेपाली कांग्रेस तथा विभिन्न विदेशी शक्तिहरूले महाकाली सन्धिलाई उपयुक्त हतियार बनाई पार्टीका नेताहरूलाई दुई धारमा परिणत गरी अन्तमा पार्टी फुटाउन सफल भएका थिए । जुन कुरापछि कांग्रेसका नेता खुमबहादुर खड्काले नेकपा एमालेलाई आफूले फुटाएको भनेर कतै सार्वजनिक गरेको समाचार आएको थियो । यदि त्यो बेला नेकपा एमाले नफुटेको भए सायद २०५६ को निर्वाचनमा दुई तिहाई बहुमत आउने निश्चित थियो भने भर्खरै जुरमुराइरहेको नेकपा माओवादीको आन्दोलन पनि नेकपा एमालेको बहुमतको सरकारसँगै बिस्तारै कमजोर हुँदै जान्थ्यो र नेपालले लामो गृहयुद्ध पनि झेल्नुपर्ने थिएन । १७ हजार निर्दोष नेपालीको ज्यान जाने थिएन शान्तिपूर्ण माध्यमबाट देश उभो लाग्थ्यो ।

माधव नेपाललाई‘पुस’ गर्नेहरूको त कमी नै छैन । हरेक दिन पछाडिबाट औंला ‘पुस’ गरिरहेकै छन् । उनले कांग्रेस र माओवादी केन्द्रलाई त आफ्नै पार्टी, देउवा र प्रचण्ड आफ्ना नेता ठानेका छन् । हुन पनि किन नमानुन् ?

अस्थिरताको दाउ हेरिरहेका देशी तथा विदेशी शक्तिहरूको हतियार बने त्यो बेला नेताहरू । अर्कोतिर नेपाली कांग्रेसले पनि आफ्नो पार्टी मजबुत बनाउनेभन्दा पनि एमाले नफुटाउने हो भने आफ्नो खैरियत रहँदैन भन्ने ठानी नेकपा एमालेलाई फुटाउनठूलो भूमिका खेल्यो । सफल पनि भयो । त्यो बेला जसरी वामदेव गौतमलाई काखी च्यापेर सरकारमा सहभागी गराई महत्वपूर्ण जिम्मेवारी दिने विभिन्न सहयोग गर्ने, आश्वासन दिने लगायतका कार्यहरू गरेको थियो । अहिले नेपाललाई कांग्रेसले त्यही नीति अपनाई काखी च्यापिरहेको छ । दोस्रोपटकको प्रतिनिधि सभा विघटन नहुनु अघि धारा ७६(२) को सरकार बनाउने समयमाकांग्रेसका नेताहरूले नेपाललाई सामूहिक राजीनामा दिन सुझाएको थियो । त्यो सफल नभएपछि बैठकमा उपस्थित नहुन अह्राएको, बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्य पदमा आफ्नो उम्मेद्वार नउठाई नेपाललाई निशर्त सहयोग गरेको, प्रदेश सरकार ढलाउन नेपाल पक्षलाई उचालिरहेको पाइयो ।

नेपाललाई पनि कांग्रेस नै सहयोगी रहेछ भन्ने भान होस् भनेर धारा ७६(५) को सरकार गठन गर्नदल त्यागसम्बन्धी कानुनले उनको सांसद पद जाने थाहा हुँदाहँुदै पनि उनैलाई प्रधानमन्त्री बनाउन जानीजानी प्रस्ताव गरेका थिए । यस्तै कारणहरू र अन्य कतिपय आश्वासनहरू दिई जसरी पनि माधव नेपाललाई केपी ओलीसँग मिल्न नदिने खेलमाकांग्रेस लागेको प्रष्टै देखिन्छ । त्यसमा नेकपा माओवादी केन्द्रका नेताहरूले त पार्टी विभाजन हुँदा नै एमालेमा फर्कने सके पार्टी कब्जा गरी सिंगो एमाले पार्टी माओवादीमा मिलाउने नसके बहुमत पार्टी फुटाउने र माओवादीमा मिलाउने भन्ने निर्णयअनुरूप कार्य भइरहेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यम हेर्नेहो भने माधव नेपालको पछाडिबाट औंला घोच्ने वा ‘पुस’ गर्नेहरूमा कांग्रेस र माओवादी केन्द्रनै हुन् भन्ने देखिन्छ । अन्नपूर्ण पोष्टबाट