३ कार्तिक २०७८, बुधबार

प्रचण्ड भन्छन् : सरकारको कारणले बाढी पहिरोबाट धनजनको ठूलो क्षति भयो

prachanda 2
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशभर आएको बाढीले धनजनको ठूलो क्षति हुनुमा केपी ओली सरकारलाई दोष दिएका छन् ।

प्रचण्डले मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको आरोप लगाएका हुन् ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

केही दिन अघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि प्रचण्डले सरकारसँग माग गरेका छन्।

यो महाविपतका बेला राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन्।

‘यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु’, प्रचण्डले भनेका छन ्। बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको प्रचण्डले उल्लेख गरेका छन् ।

Prachanda statement