१० आश्विन २०७८, आईतवार

अविरल वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध

landslide tribhuwanhighway
फाइल फोटो

अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका सडकहरु अवरुद्ध भएका छन् । बुटवल-नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुल्न सकेको छैन ।

निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले जानकारी दिए ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ । यो खण्डको तिनाउ-५ कालिमाटी, तानसेन-८ को गौडापुल, जरेपिपल तथा तानसेन(१४ गाईघाटमा पहिरो गएको छ ।

गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए।

यस्तै तानसेन-रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै रिडी-तम्घास र रिडी-वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए । यस्तै गोरुसिङ्गे-सन्धिखर्क सडकको फुदवाङ, प्युठान-भालुवाङ सडकको सरुमारानी ४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको छ । उनका अनुसार बुटवल नेपालगन्ज राजमार्ग भने सुचारु रहेको छ ।