७ बैशाख २०८१, शुक्रबार

अग्रणी नेफ्रोलोजिस्ट डा. कनकबहादुर रावतको कोरोनाबाट निधन

kanak bahadur raut

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। फिजिसियान नेफ्रलोजिस्ट रावतको मंगलबार विहान ६ बजे ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

उपचारकै क्रममा कोरोना संक्रमण भएपछि जेठ दोस्रो साता अस्पताल भर्ना गरिएको थियो । डा. रावत चिकित्साशास्त्र अध्ययन संस्थानका सुरुका फ्याकल्टी मध्ये हुन।

नेपालमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला उपचार सेवा स्थापनादेखि विस्तारमा महत्वपूर्ण योगदान छ। डा. रावतका विद्यार्थीसमेत रहेका फिजिसियान नेफ्रलोजिस्ट डा. महेश सिग्देलका अनुसार लामो समयदेखि लिम्फोमाको उपचारमा रहेका डा. रावतको पुरानो समस्या नियन्त्रणमै थियो । डा. सिग्देलले सिभियर कोभिड निमोनियाबाट डा. रावतको निधन भएको पुष्टि गरे।

डा. रावत २०२८ सालमा त्रिवि परिसरमै रहेको स्वास्थ्य केन्द्रदेखि नै सेवा प्रवेश गरेका थिए। उनी लामो समयसम्म त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभाग र पछि स्थापना भएको नेफ्रोलोजी विभागको समेत प्रमुख थिए।

उनी शिक्षण अस्पतालका अब्बल फिजिसियन मानिन्छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा जगदीशचन्द्र अग्रवालले उनी कुशल र इमान्दार चिकित्सक भएको बताए।

उनले भने,‘हामीले मेडिसिन विभागमा सँगै काम गरेका थियौँ। उहाँ हामीभन्दा पनि सिनियर फिजिसियन हुनुहुथ्यो। आफ्नो समयको नाम लिइने इमान्दार र डेडिकेटेट फिजियसनमा हुनुहुन्थ्यो।

उमेर हदका कारण अवकासपछि पनि डा. रावतले सेवा करारको रुपमा आइओएममा आवद्ध भएर डिएम कार्यक्रमसमेत सुरु गराएका थिए।
क्षमताका आधारमा अब्बल फिजिसियान नेफ्रोलोजिस्ट डा. रावतको नेपालमा चिकित्सा शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन्। ‘उहाँ अब्वल, इमान्दार चिकित्सकसँगै राम्रो परीक्षक र शिक्षक हुनुहुन्थ्र्यो’ डा. सिग्देल भन्छन्।

आइओएमका पूर्व डिन डा. जगदिशप्रसाद अग्रवालका अनुसार चिकित्सा शिक्षाका पाठ्यक्रम, निर्माण, विभिन्न शिक्षक तालिमका उहाँले पुर्याएको सेवा निकै महत्वपूर्ण छ। ‘कामप्रति त्यति धेरै प्रतिवद्ध, इमान्दार मानिस निकै कम भेटिन्छन्’ डा. अग्रवालले थपे ‘आइओएमबाट पासआउट भएका धेरै चिकित्सकमा उहाँप्रतिको छाप अमिट रहनेछ’

सहकर्मी चिकित्सकहरु डा. रावतलाई निकै ‘पपुलर र पंचुअल’ शिक्षक एवं चिकित्सकको रुपमा सम्झन्छन् । शिक्षकसँगै डा. रावत राम्रो परीक्षकको रुपमा पनि गनिन्छन् । आइओएमले संचालन गर्ने चिकित्साका विभिन्न प्रवेश र अन्य परीक्षाको नेतृत्व डा. रावतले नै गर्थे।

पद्मोदय हाइस्कूलबाट एसएससी, अमृत साइन्स कलेजबाट आइएससी गरेका डा. रावतले दरबंगा मेडिकल कलेजबाट एमबिबिएस र बंगलादेशबाट एमडी नेफ्रोलोजी गरेका थिए।