१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिमका सात जना एमाले प्रदेशसभा सदस्य निलम्बित

suderPashim uml

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलले सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली पक्षीय सात जना प्रदेश सभा सदस्यलाई सात देखि १५ दिनसम्म निलम्बन गरेकोे छ ।

एमाले संसदीय दलको सोमबार दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । गत जेठ २५ गते नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई विश्वासको मत नदिएको कारण सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गरिएको हो ।

प्रमुख सचेतक दुर्गाकुमारी विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन र नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई सात दिन निलम्बन गरिएको छ । उहाँहरुको भूमिकाका आधारमा सो निर्णय गरिएको विकले बताउनुभयो ।

संसदीय दलले सभामुखलाई पत्राचार गरेको खण्डमा निलम्बित प्रदेश सभा सदस्यहरु निलम्बनको अवधीमा प्रदेश सभा र प्रदेश सभाका विभिन्न समितिका बैठकमा उपस्थित हुन नपाइने व्यवस्था छ ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिएको विषयमा आधारित रहेर सातै जनालाई स्पष्टीकरण सोधिएको थियो । सातै जनाले स्पष्टीकरण पनि बुझाउनु भएको थियो । तर स्पष्टीकरण चित्त बुझ्दो नभएकोले सो निलम्बन गरिएको विकले बताउनुभयो ।

सातै जनाले पार्टीको स्थायी समितिले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकारका विरुद्ध उभिएको बताउने गर्नु भएको छ ।

दलका्े बैठकमा सातै जनाको उपस्थिति थियो तर उनीहरुले उपस्थितिमा भने हस्ताक्षर गर्नुभएन । प्रदेश सभा सदस्य लिलाधर भट्टले भन्नुभयो, हामीले बैठकमा अनौपचारिकरुपमा सहभागिता जनायौ र अनौपचारिकरुपमै आफ्ना कुरा राख्यौ । उहाँहरुले गरेको कार्वाही पार्टीको विधान अनुसार मिल््दैन, सभामुखले विवेक पुगाउनुहुन्छ उहाँले दावी गर्नुभयो । उहाँका अनुसार दलको विधान पार्टी केन्द्रलाई पठाइएकै छैन्, पार्टी केन्द्रले मान्यता नदिदासम्म त्यो लागू हुँदैन ।

सोही बैठकमा पूर्व प्रमुख सचेतक तारा लामातामाङले सबै प्रदेशमा एमाले एकतावद्ध देखिएको बेला यस्तो निर्णय गर्न नहुने सुझाव दिनु भएको थियो ।