१३ बैशाख २०८१, बिहीबार

कोरोना सङ्क्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल

sil

जुम्लाको चन्दननाथ नगरपालिका– ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णयअनुसार शुक्रबार बेलुकादेखि सिल गरेको हो ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना सङ्क्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना सङ्क्रमति रहेका छन् ।

सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरे पनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याएको महतले बताए ।

स्थानीय विजय रावलका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै सङ्क्रमति व्यक्तिहरूको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाइएको छ ।

यस्तै यसअघि तातोपानी गाउँपालिका– १ राकागाउँ र सोही गाउँपालिकाको– ६ रावतवाडा गाउँ पनि सिल गरी कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।

सङ्क्रमितहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुन्जेलसम्म गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । वैशाखदेखि यता जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८९ पुगेको छ ।

यस्तै सङ्क्रमण मुक्त भएको सङ्ख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन् ।