
सुदूरपश्चिममा नेकपा एमाले माधव पक्षका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै स्पष्टीकरण सोधिएको हो ।
एमालेका प्रदेश सचिव राजेन्द्र रावलका अनुसार पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको हो ।
रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जनाए ।
उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए ।

