१६ चैत्र २०८०, शुक्रबार

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ

Kalo Jhanda Netra

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए ।

पोखरास्थित जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् ।

यस्तै नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष) र असिम पौडेल पनि पक्राउ परेका छन् ।

सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा राखिएको छ ।

समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, रेशक सापकोटा लगायतका ४ विद्यार्थी नेतालाई पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री पनि जोडिएको, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको, काण्डै काण्ड घटाएर देश लुटिरहेको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।