१३ बैशाख २०८१, बिहीबार

योगेश भट्टराईको प्रश्न : एमालेका नेता नमिल्ने तर विपक्षीसँग गठबन्धन गर्न तयार हुने किन ?

yogesh bhattarai
फाइल फोटो

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतालागि गम्भीर छलफल हुनुपर्ने बताएका छन् । बुधबार उनले फेशबुकमार्फत साझा निष्कर्ष र साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी भएको धारणा राखेका छन्।

एमाले एकताको समस्याका मूल जड भनेकै केपी शर्मा ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ-माधव केपीसँग मिल्न तयार नहुनु नै रहेको टिप्पणी गरेका छन् ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’

उनले भनेका छन्,‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

कसले, किन र के का लागि गर्दैछ यो सब ? भट्टराईले प्रश्न गर्दै थपेका छन्, ‘एमाले एकताको समस्याको मुल जड यहिँ छ।’

एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटिरहेका बेला भट्टराईको यस्तो भनाई आएको हो ।

राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए । उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए । यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन् ।

दोस्रो तहका नेता एकता हुनेमा अझै विश्वस्त देखिएका छन् । दुवै पक्षमा रहेका ‘केही अतिवादी’ले ओली र नेपाललाई मिल्न अवरोध गरिरहेको उनीहरूको निष्कर्ष छ । एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने दुवै पक्षका दोस्रो तहका नेताको निश्कर्ष छ ।

Capture 3