१५ चैत्र २०८०, बिहीबार

कोरोना उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिदैन: डब्ल्यूएचओ

WHO 1

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ अधिकारीले चीनलाई कोरोना भाइरस(कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएका छन् ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताउनु भएको हो ।

हामी आफ्ना सदस्य मुलुकबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गर्छौं’, रयानले भन्नु भयो । अझै पनि कोरोना भाइस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको हो भन्ने टुङ्गो लागिसकेको छैन ।

विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

यस वर्षको सुरुआतमा डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीले चीनको भ्रमण गरेका थिए । यद्यपि उनीहरुले कोरोनाको उत्पत्तिबारे अनुसन्धानको लागि सबै डेटाहरुमा आफूहरुलाई पहुँच नदिइएको आरोप लगाएका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए । उनका विदेशमन्त्री माइक पोम्पेओले पनि आफूहरुसँग चीनको प्रयोगशालाबाट कोरोना बाहिरिएको प्रमाण आफूहरुसँग भएको बताउने गरेका थिए ।