१५ चैत्र २०८०, बिहीबार

अमेरिकी राष्ट्रपति दुई दिने भारत भ्रमणमा, ट्रम्प फकाउँदै भारत

Modi Trump us india

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने भ्रमणका क्रममा आज भारत आउदै छन् । ट्रम्पको स्वागतमा भारतको अहमदावाद, आग्रा र दिल्लीमा सतर्कतासहित तयारी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ट्रम्पले आज अहमदावादमा २२ किमीको रोड शो गर्ने र विश्वकै ठुलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा भारतीय प्रधानमन्त्रीसँग सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ट्रम्पको सम्मानमा अहमदावादमा नमस्ते ट्रम्प कार्यक्रम आयोजना गरिने भएको छ । यस कार्यक्रम अन्तर्गत करिब एक लाख मानिसहरुलाई मोदी र ट्रम्पले सम्बोधन गर्ने बताइएको छ ।

ट्रम्प आजै आगरामा अवस्थित ताजमहलमा जाने छन् । करिब ४५ मिनेट ताजमहलमा बसेर ट्रम्प आजै नयाँ दिल्ली फर्किने तालिका रहेको छ ।

पछिल्लो समय कश्मिर विवाद बढेपछि ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्तताको प्रस्ताव गरेका थिए । ट्रम्पको यस भ्रमणलाई यसै बर्ष नोभेम्बरमा हुने अमेरिकी निर्वाचनसँग पनि जोडिएको छ । अमेरिकी मिडियाले अमेरिकामा रहेका भारतीय मुलका मतदातालाई रिझाउने प्रयास भएको भन्दै आलोचना गरेका छन् ।

भारत आउनु अघि ट्रम्पले ट्वीट गर्दै भारतका कैयौ साथीहरुसँग भेटन आफु आतुर रहेको उल्लेख गरेका छन् । ट्रम्पले भारत भ्रमणको पुर्वसन्ध्यामा उनका एक भारतीय फ्यानले बाहुबलीमाथि बनाएको ट्रम्पको भिडियो समेत रि(ट्वीट गरेका छन् ।

सो भिडियोमा ट्रम्प बाहुबली जस्तै लडेर आम मानिसलाई सहयोग गरिरहेको देखाइएको छ ।

ट्रम्प मंगलबार नै स्वदेश फर्किने छन् । यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५-२७ मा तीन दिने भारत भ्रमण गरेका थिए ।