१४ बैशाख २०८१, शुक्रबार

जोगिएला त भट्ट नेतृत्वको सुदूरपश्चिम सरकार ?

bhatta 1
फाइल फोटो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ताएपछि सरकारको भविष्यबारे भोलि छिनोफानो हुने भएको छ । मुख्यमन्त्री भट्ट आफूले विश्वासको मत पाउने र सरकार जोगिनेमा विश्वस्त देखिएका छन । भट्टले आइतबार साँझ ५ बजेपछि प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए ।

उनी सोमबार नै विश्वासको मत लिन चाहन्थे । तर, प्रदेशसभा नियमावलीले पत्र दर्ता भएको कम्तीमा ४८ घण्टापछि मात्रै प्रदेशमा पेस हुने व्यवस्था गरेको छ । सोमबारको कार्य व्यवस्था परामर्श समितिमा उक्त नियम नै निलम्बन गरेरसमेत विश्वासको मत लिइहाल्न खोज्दा कांग्रेसले रोकेको थियो ।

कांग्रेसको विरोधपछि मंगलबार विश्वासको मतका लागि सरकारले तयारी थालेको छ । नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने र मन्त्रिपरिषद् विस्तार गरेर थप सदस्यहरु सरकारमा पठाउने निर्णय गरेको थियो । त्यसयता एमालेभित्र किचलो छ । हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ ।

विश्वासको मत लिदै गर्दा भट्टले कम्तीमा २८ मत प्राप्त गर्ने अनुमान गरेको बुझिएको छ । एमाले माधव नेपाल समूहको दरिलो साथ भएकाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत सहजै प्राप्त हुने अवस्था रहेको सांसदहरुले बताएका छन् । माधव नेपालका संसदहरूले मुख्यमन्त्रीलाई भोट दिए सरकार जोगिने अवस्था छ । तर, माधव पक्षले पार्टी केन्द्रको निर्देशन पालना गर्ने र विश्वासको मत नदिने निर्णय गरे मुख्यमन्त्री अल्पमतमा पर्ने छन्, जुन सम्भावना झिनो छ ।