११ बैशाख २०८१, मंगलवार

युवतीमाथि भएको दुर्व्यवहार थाहा नदिन राउटे बस्तीमा अन्य व्यक्ति जान नपाउने

file foto
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्तीमा अन्य व्यक्तिलाई जान रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका हुन।

पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएको उनले बताए । बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले बताएको हो ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए ।

raute yubati