१५ बैशाख २०८१, शनिबार

‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानको थप ४२८ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुग्यो

Oxygen samagri

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा थप ४२८ वटा अक्सिजन कन्सनट्रेटर शनिबार साँझ नेपाल आइपुगेको छ ।

विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा सो सामग्री नेपाल आइपुगेको गैरआवासीय नेपाल संघले जनाएको हो ।
संघका अनुसार यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरिदका लागि आर्थिक सहायता प्राप्त भएको थियो । चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरिद प्रक्रियामा सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिदसहित ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ ।

विश्वभरीबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत संघले प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ । संघको अभियानमार्फत सहयोग गर्ने विदेशस्थित दूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघले आभार पनि व्यक्त गरेको छ ।

    सम्बन्धित समाचार...