१२ बैशाख २०८१, बुधबार

बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

corona death

बाँकेमा उपचारका क्रममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष छन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी चार जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बाँसगढी नगरपालिका– ८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका– २ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका– ३ बाँकेकी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका– १ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको वलीले जानकारी दिए ।

बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।